• १० मंसिर २०८१, सोमबार

बडादशैँको चहलपहल सुरु

blog

यलु जोशी

काठमाडौँ, असोज ११ गते । मङ्गल धुनले दशैँ आगमनको सङ्केत गर्छ। गीत–सङ्गीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ। सोमबारबाट नेपालीको महान् चाड बडादशैँ सुरु भएको छ। दशैँको पहिलो दिन मङ्गल धुनसँगै घर–घरमा घटस्थापना गरिएको छ। पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ। 

बडादशैँको पहिलो दिन घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिने ज्योतिष सजल श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। श्रेष्ठले भन्नुभयो, “यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीका दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।”

जमरामा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो। उहाँले १० बजेर २३ मिनेटमा घटस्थापना र असोज १९ गते ११:५१ बजे विजयादशमीको साइत भएको जानकारी दिनुभयो। दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तवीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ। यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ। घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ। यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ।

दशैँ विशेष गरेर हिन्दु नेपालीको राष्ट्रिय चाड हो। यो चाडमा आफन्तजन सबै भेला भएर मनाउने गरिन्छ। आश्विन शुक्ल पक्ष प्रतिपदा घटस्थापनादेखि सुरु भएर कोजग्रत पूर्णिमासम्म (१५ दिनलाई) विजयादशमी अथवा दशैँ भनिन्छ। यो चाडमा आफ्ना नाता कुटुम्ब, ठूलाबडा, मान्यजनबाट टीका तथा जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ। मीठो खाने÷खुवाउने, राम्रो लाउने, घरआँगन, बाटोघाटो, गाउँ टोल सफा राख्ने जस्ता कार्य दशैँमा गरिन्छ। बर्खाभरिको हिलाम्मे शरीर यस बेला सुकिलो हुँदै घरभरि अनाज हुँदा सबै खुसी हुन्छन्। यसै खुसीका अवसरमा नै भगवान्को कृपा मानी देवीदेवताको पूजा गरी दशैँलाई अझ विशेष रूपमा मनाइन्छ। रमाइलो गर्ने, पिङ खेल्ने, साथीसँगी आफन्तसँग भेटघाट गरिने हुँदा एकआपसमा भाइचाराको सम्बन्ध बढाउने चाड पनि दशैँ हो।

दशैँ घरमा विशेष पूजा गरिँदै

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँघरमा सोमबारदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ। समितिले दिएको साइतमा सोमबार विधिपूर्वक घटस्थापना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताउनुभयो। दशैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ। यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइन्छ। हनुमानढोकाको दशैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ। यो क्रम विजयादशमीको दिनसम्म जारी रहन्छ।