• ११ मंसिर २०८१, मङ्गलबार

फेरिए ५२ हाते लिङ्गा

blog

नेत्र शाही

खलङ्गा (जुम्ला), असोज ११ गते । कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन्। मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्। 

स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो।   

चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापनका सचिव जितबहादुर महतका अनुसार जुम्ला सदरमुकाममा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिङ्गा र ५२ हाते ध्वजासहित नयाँ लिङ्गा फेरिने चलनअनुसार लिङ्गा फेरिएका हुन्। चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा गरिने प्रचलन छ। यसमा पनि ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वजासहित ५२ हाते लिङ्गा खडा गरी घटस्थापना गर्ने चलन छ। 

उहाँका अनुसार गुरु चन्दननाथ, अखणादेवी लिङ्गा, वटुक भैरव र भैरव देवी गरी चारवटा लिङ्गा गाड्ने चलनअनुसार नयाँ लिङ्गा फेरिएका हुन्। चन्दननाथको लिङ्गामा विजय स्तम्भसमेत नयाँ फेरिएको छ। वि.सं. १८४६ अघि राजा रणबहादुर शाहले कल्याल राजालाई पराजित गर्दादेखि नै यो प्रचलन थालिएको जानकार बताउँछन्। चन्दननाथ नगरपालिकाको ढाँणथपाला वनबाट तीन दिनअघि नै पूजाआजा गरी ल्याउने परम्परा छ। लिङ्गा काट्ने काम भने हरेक वर्ष ऋषि पञ्चमीमा गरिन्छ। त्यसरी काटिएका लिङ्गा घटस्थापनाको तीन दिनअघि ल्याई सोमबार ठड्याइएको मन्दिरको गुठी व्यवस्थापन समितिले जनाएको छ। 

सचिव महतका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि नै चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गा र ध्वजाको प्रचलन रहेको हो। जिल्लाका उच्च तहका सरकारी अधिकारीहरूको उपस्थितिमा स्थानीय भक्तजन र सुरक्षाकर्मीको सहयोगमा हरेक वर्ष चन्दननाथ भैरवनाथ मन्दिरमा लिङ्गा गाड्ने चलन भने वि.सं. १४९८ सालदेखि चल्दै आएको हो। जङ्गलबाट लिङ्गा ल्याउन नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीयवासीले निकै मिहिनेत गर्दछन्। 

चन्दननाथ मन्दिरमा लिङ्गा गाडेर फर्किएपछि मात्र घरमा जमरा राख्ने चलन जुम्लामा छ तर लामो इतिहास बोकेको चन्दननाथ मन्दिरमा भने अहिले स्थानीयवासीले लिङ्गा गाड्नेदेखि ठड्याउने काममा चासो घट्दै गएको बताइएको छ। यसैगरी यहाँको सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिरमा समेत विधिवत् रूपमा परम्परागत पूजा गरिएको छ।