• १३ साउन २०८१, आइतबार

अवैध संरचना हटाउन नगरपालिकाको निर्देशन

blog

मीना कँडेल

कावासोती, असोज १० गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिका दलदले–मुण्डे सडक खण्ड अन्तर्गत सडक अधिकार क्षेत्र भित्र रहेका संरचना हटाउन नगरपालिकाले निर्देशन दिएको छ। 

दलदले–कुमसोत सडक विस्तार गर्न लागिएकोले सडक क्षेत्रमा पर्ने त्यस्ता संरचना हटाउन नगर प्रमुख हरिप्रसाद न्यौपानेले आग्रह गर्नुभएको छ। यहाँ २० मिटरको बाटो निर्माण गरिँदै छ। 

कार्तिक १२ गतेसम्म सडकको क्षेत्र भित्र पर्ने संरचना हटाएर जग्गा खाली गर्न नगर प्रमुख न्यौपानेले सार्वजनिक सूचना समेत जारी गर्नुभएको छ। जिल्ला स्तरीय सडकको रूपमा रहेको उक्त सडकको मापदण्ड बमोजिम केन्द्रदेखि दायाँ बायाँ १०/१० मिटरसम्मका संरचना हटाउन भनिएको छ। 

तोकिएको समयमा त्यस्ता किसिमका संरचना हटाउन अटेरी गर्ने घर जग्गाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ। 

गण्डकी प्रदेश, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक    वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार सडक विस्तार गर्न लागिएको हो। 

देवचुली नगरपालिका अन्तर्गत दलदले–कुमसोत डवल लेन सडक निर्माण योजनाका लागि २.५ करोड (साढे दुई करोड) रकम विनियोजन गरिएको छ। 

पूर्वाधार विकास कार्यालय, कावासोती मार्फत उक्त मुख्य सडक चौडा पारी आधुनिक शैलीमा निर्माण गर्ने गरी यही असोज ४ गते बोलपत्र समेत आह्वान गरेको थियो। 

यो सडकखण्ड तीनतले जिल्लाको रूपमा परिचित नवलपुरको पहाडी क्षेत्र जोड्ने मुख्य सडकका रूपमा रहेको छ। विशेषगरी नवलपुरको बुलिङटार र बौदीकाली गाउँपालिकालाई यसले जोड्ने गरेको छ।