• ७ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा भारी वर्षा

बैतडीमा पहिरोले घर बगायो, स्थानीयमा त्रास

blog

बैतडीको ढुङ्गाढ क्षेत्रमा सेती नदीमा आएको बाढी । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, असोज १० गते । सुदूरपश्चिमको बैतडीमा शनिबार रातिदेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण आइतबार बिहान बैतडीको दोगडाकेदार गाउँपालिका –२, बडियामा पहिरो खस्दा स्थानीय देबसिंह महराको घर बगाएको छ । गोठमा रहेका गाई र बाख्रा पुरिएका छन् । पहिरो खस्दा घर परिवारले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय अत्तरियाका अनुसार असोज ८ गते शनिबारदेखि १० गते सोमबारसम्म तीन दिन सुदूरपश्चिमको कञ्चनपुर, बैतडी र दार्चुलामा भारी वर्षा हुने भएकाले सजगता अपनाउन सूचना जारी गरेको छ ।  

शनिबार रातिदेखि लगातारको वर्षाले सेती नदीमा पानीको बहाव बढेको छ । बैतडीको सिगास गाउँपालिका –५, ढुङ्गाढ क्षेत्रमका १०३ घरपरिवारमा बाढीको त्रास बढेको छ । सेती नदीमा पानीको बहाव बढ्दा ढुङ्गाढका १०३ घर परिवार बर्सेनि सेतीको भँगालोमा फस्ने गरेका छन् । 

ढुङ्गाढमा गत वर्ष कात्तिक पहिलो साता आएको बाढीले १० घरमा क्षति गर्नुकासाथै सात सय रोपनी खेतीयोग्य जमिन र सेतीको झोलुङ्गे पुल बगाएको थियो । बाढी पीडितले अहिलेसम्म राहत नपाएको बाढी पीडित लोकबहादुर चन्दले बताउनुभयो । 

सुदूरपश्चिममा भारी वर्षा हुने सूचना जारी भएपछि रातभरी ढुङ्गावासी निदाउन नसकेको अर्का स्थानीय मीनबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सेतीमा पानीको बहाव बढेसँगै ढुङ्गावासी सेतीको भँगालोमा फस्ने खतरा बढेको छ । नदीमा पुल नभएकाले  कतै जाने ठाउँ पनि छैन ।”

नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीयको चिन्ता बढेको छ । बर्सेनि आउने बाढीले ढुङ्गाढ क्षेत्रको सात सय रोपनी खेत बगाइसकेको स्थानीयले बताएका छन् । बैतडीमा भारी वर्षा भइरहेकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थानमा प्रहरी युनिट मार्फत सतर्कता अपनाउन निर्देशन दिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आइतबार बिहानै पहिरो खस्दा बैतडीको दोगडाकेदारको बडियामा घर र पशुचौपाया बगाइसकेको छ । घटनास्थलमा प्रहरी परिचालन गरेका छौँ । मानवीय क्षति नभए पनि पहिरोको जोखिम रहेकाले सुरक्षित स्थानतर्फ स्थानीयलाई लैजाने काम भइरहेको छ ।”