• १३ वैशाख २०८१, बिहिबार

मासुमा आत्मनिर्भर

blog

सुरेशकुमार यादव

काठमाडौँ, असोज १० गते ।  दशैँ भन्नेबित्तिकै राम्रो लगाउने र मीठो खाने बेला हो । नेपालीको मीठो खानामा मासु पर्ने नै भयो । त्यसैले चाडपर्वमा खासगरी दशैँमा मासुको खपत बढी हुन्छ । गरिब होस् या धनी, दशैँमा मासुको जोहो गर्नेपर्ने बाध्यता जस्तै हुन्छ । 

दशैँमा मासुको खपत बढी हुने भएपछि त्यसैअनुसारको आपूर्ति पनि हुनुपर्छ । गाउँघरतिर किसानले दशैँका लागि भनेर अघिदेखि नै खसीबोका, च्याङ्ग्रा, राँगो, भेडा, हाँस, कुखुराको जोहो गरेका हुन्छन् तर सहर बजारतिर भने दशैँकै बेला किन्नुपर्ने बाध्यता छ । त्यसैले दशैँका बेला गाउँगाउँबाट सहर बजारमा खसीबोकालगायतका पशुपन्छी पु¥याइन्छन् । यतिले मात्रै नपुगेर तिब्बत र भारतबाट पनि खसीबोका, च्याङ्ग्रा आयात गरिन्छ । 

५ प्रतिशत आयात

२०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मासुजन्य पदार्थमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो तर अझै तयारी मासु आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छैन । 

दशैँका बेला मासु र खसीबोका आयात भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । अरू बेला भने स्वदेशी उत्पादनले पुगिरहेको छ ।

“विदेशबाट थोरै मात्रामा आयात गर्नुपर्छ, त्यसले गर्दा मासुमा नेपाल लगभग आत्मनिर्भर नै छ,” पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले भन्नुभयो । उहाँका अनुसार नेपाललाई चाहिने ९५ प्रतिशत मासु नेपालमै उत्पादन हुन्छ । करिब ५ प्रतिशत मासु आयात हुन्छ ।  

दशैँमा सबैभन्दा बढी खपत हुने खसीको मासु हो तर खसीको मासुसँगै कुखुरा, हाँसलगायत चराजन्य मासु तथा माछाको माग पनि बढ्छ । त्यसले गर्दा मासुसँगै माछाको खपत पनि दशैँमा बढेको देखिन्छ ।

गत वर्षको तथ्याङ्क हेर्ने हो भने ३९८ मेट्रिक टन मात्र मासु आयात भएको छ । गत वर्ष ५५ हजार वटा खसी आयात भएको थियो, यो निकै कम हो । त्यसलै नेपाल मासुमा आत्मनिर्भर रहेको उहाँले दाबी गर्नुभयो । 

स्वदेशमा पाँच लाख टन उत्पादन

नेपालमा भैँसी, राँगो, खसी, बोका, सुँगुर, बङ्गुर, कुखुरा, हाँस, भेडा, च्याङ्ग्रालगायतको मासु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष भँैसी, राँगो, खसी, बोका, सुँगुर, बङ्गुर, कुखुरा, हाँस, भेडाको सङ्ख्या नौ करोड ४८ लाख ३० हजार थियो । 

गत वर्ष पाँच लाख २० हजार ७४२ मेट्रिक टन मासु उत्पादन भएको थियो । उत्पादन भएका सबै मासु नेपालमै खपत हुने गरेका छन् । 

प्रतिव्यक्ति १८.१ केजी खपत

नेपालीले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले तोकेको न्यूनतम मापदण्डभन्दा बढी मासु उपभोग गर्छन् । सङ्गठनले एक जना व्यक्तिले वर्षमा कम्तीमा १४ केजी मासु उपभोग हुनुपर्ने देखाएको छ । यसका आधारमा नेपालमा मासुको न्यूनतम आवश्यकता नै तीन लाख ८० हजार मेट्रिक टन हुन आउँछ । जब कि

नेपालमा पाँच लाख मेट्रिक टनभन्दा बढी मासु उत्पादन हुन्छ । 

विभागका अनुसार नेपालमा एक जनाले औसतमा वार्षिक १८.१ केजी मासु खाइरहेका छन् । यो तथ्याङ्कले पनि नेपाल मासुमा आत्मनिर्भर रहेको पुष्टि हुन्छ तर दशैँजस्तो चाडपर्वमा केही अपुगजस्तो देखिने गरेको छ । 

प्रवक्ता ढकालका अनुसार अन्य समयभन्दा दशैँमा मासुको खपत बढी हुन्छ । दशैँकै सात दिनमा मात्र ९१ हजार ९०६ मेट्रिक टन मासु खपत हुन्छ । यसमा कुखुरा र हाँसको तथ्याङ्क समावेश छैन । 

दशैँमा मात्र करिब ३० लाख खसीबोका, तीन हजार दुई सयवटा च्याङ्ग्रा, एक हजार पाँच सयवटा राँगा र ९१ हजार किलो माछा खपत हुने पशु सेवा विभागले जनाएको छ ।