• १६ चैत २०८०, शुक्रबार

प्लास्टिकको अवैध प्रयोग

blog

कानुन काइदा एकातिर र काम भने अर्कातिर हुँदा धेरै काम बिग्रन्छ। व्यक्तिले गरे त त्यो सजाय नै हुन्छ। तर सरकारी निकायले नै त्यस्तो काम गरे के गर्ने ? केही दिनअघि चितवनको कसरामा यस्तै एउटा कार्यक्रम भएछ। चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वन तथा वातावरण मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा गएको शुक्रबार भव्य रूपमा मनाइएको कार्यक्रममा कानुन र निर्णयको ठूलै उल्लङ्घन भएछ। प्लास्टिक निषेध त्यस क्षेत्रमा सो दिन भने प्लास्टिककै तोरण, ध्वजापताका, फूल, फूलका गुच्छा प्रयोगमा ल्याइएछ। मन्त्री यादव, निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाल र वन तथा भू–संरक्षण विभागका महानिर्देशक दिनेशमणि त्रिपाठीकै आँखा अगाडि कसरी त्यस्तो हुन गयो ? निषेधित सामग्रीबाट गरिएको मञ्च सजावटबारे उहाँहरू बोल्नु भएन। झनै आश्चर्यकै कुरा भयो।

प्लास्टिकजन्य वस्तु निधेषको लामै शृङ्खला छ। सो राष्ट्रिय निकुञ्जको हकमा त झनै कुनै बेला भव्य कार्यक्रम नै भएको रहेछ। चितवन राष्ट्रिय निकुञ्जले नै २०७५ पुस १७ गते सौराहामा तामझाम साथ भव्य समारोह गरेको रहेछ। सो कार्यक्रमले निकुञ्ज क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेको रहेछ। निकुञ्जमा प्रयोगमा ल्याइने प्लास्टिकजन्य वस्तु जथाभावी फालिँदा वन्यजन्तुलाई असर पर्छ भनेरै सो कार्यक्रम गरी प्लास्टिक निषेध गरिएको हो। सो निर्णय र कार्यक्रम दुवै मनासिव थिए। हुन पनि प्लास्टिक त्यसै नष्ट हुँदैन। त्यसले जलचर, वन्यजन्तु र वनस्पतिमै प्रभाव पार्छ। निकुञ्ज घुम्न आउने पर्यटकले बढी मात्रामा प्रयोग गर्ने पानीका बोतल, चाउचाउ, कुरकुरेलगायतका वस्तुका खोलले वन्यजन्तुलाई निरन्तर असर गर्न थालेपछि निकुञ्ज क्षेत्रभर प्लास्टिक प्रयोगमा रोक लगाइनु उचित थियो।

प्लास्टिकविरुद्धको अभियान त्यतिमा मात्र सीमित भने होइन। भर्खरैसमेत नयाँ निर्णय कार्यान्वयनमा ल्याइएको छ। दुई महिनाअघि गत साउन १२ गते राजपत्रमा सूचना जारी गर्दै नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय भएको थियो। सोसम्बन्धी सूचना राजपत्रमै राखियो। राजपत्रमा सूचना मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको थियो। संयोग भन्नुपर्छ, यो निर्णय मन्त्री यादवको कार्यकालको पहिलो निर्णयसमेत रहेछ। मन्त्री तथा अधिकारीहरू आफैँ सहभागी भएको कार्यक्रममा त्यस्तो गम्भीर त्रुटि कसरी हुन गयो ? त्यसो त अधिकारीहरूले यो विषयलाई त्यति गम्भीर रूपमा लिएको पाइएको छैन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले त्यस दिन प्रयोग गरिएको प्लास्टिकजन्य सामग्री राम्रो कामका लागि भएको भन्नुहुन्छ। उहाँ नकारात्मक नसोच्नसमेत आग्रह गर्नुहुन्छ। खासमा त निषेध गरेका वस्तु प्रयोग हुनु गलत थियो र गलतै भन्नुपर्ने। निकुञ्जले त गल्ती स्वीकार गरेर आगामी दिनमा यस्ता कार्य हुँदैन भनेर पो जवाफ दिनुपर्ने होइन र ?

 प्लास्टिकजन्य वस्तुको प्रयोग मुलुककै लागि गम्भीर समस्या भइसकेको छ। सरकारले पटक पटक निषेध गर्ने भने पनि अहिले पनि सबैतिर यसको व्यापक प्रयोग भइनै रहेको छ। न त उत्पादनमा रोक लगाइएको छ, न त प्रयोगमै रोक लगाइएको छ। प्लास्टिकका विकल्पको प्रयोग हुन सकेको छैन। पछिल्लो तीन दशकको हाराहारीमा मात्र प्लास्टिकको प्रयोग व्यापक भएको हो। त्यसअघि प्लास्टिकको प्रयोग नै थिएन। जुटका झोलाहरू थिए। कागजका झोलासमेत प्रयोगमा थिए।

 कपडाका झोलाहरू समेत प्रयोगमा आइरहन्थे। वातावरणलाई प्रतिकूल असर पार्ने ती वस्तु थिएनन्। एकाएक प्लास्टिकको प्रयोग बढ्यो। जीवजन्तुले ती प्लास्टिक खाएमा मर्न सक्छन्। निकुञ्जका दुर्लभ जीवजन्तुलाई त प्लास्टिकबाट जोगाउनै पर्छ। घरपालुवा जीवजन्तुदेखि जलचर जीवजन्तुमा समेत प्लास्टिकले व्यापक हानि पु¥याउँछ। कतिपय प्लास्टिकले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइ क्यान्सरलगायतका रोग लाग्ने कुरा बाहिर आइरहेको छ। धेरै वर्षसम्म नकुहिले हुँदा प्लास्टिकजन्य फोहोर वातावरणका लागि ठूलो चुनौती भएको छ। यस्तो अवस्थामा सरकारी निकायले नै प्लास्टिकको प्रयोग गर्नु विडम्बना हो। झन् औपचारिक कार्यक्रममा प्लास्टिकजन्य वस्तुको प्रयोग गर्नु शोभनीय होइन। यस्ता गल्ती सुधार गर्दै प्लास्टिक निषेध अभियानलाई सफल बनाउनु सबैको कर्तव्य हो।