• ११ मंसिर २०८१, मङ्गलबार

रानी–जमरा–कुलरिया आयोजना

सिँचाइ र जलविद्युत् एकैसाथ

blog

एकिन्द्र तिमल्सेना

टीकापुर, असोज ९ गते । राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया आयोजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६३ करोड पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा एक अर्ब ८१ करोड ८६ लाख (७२ प्रतिशत) मात्र खर्च भएको छ। 

आयोजनाका सूचना अधिकारी इन्जिनियर पे्रम लासिवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भएको खर्चबाट १४.६५ किलोमिटर लम्की नहर निर्माण भएको छ। फिडर क्यानलमा निर्माणाधीन ४.७१ मेगावाट विद्युत्गृहको हाइड्रो मेकानिकल कार्य र पावरहाउसदेखि लम्की सबस्टेसनसम्म ६.५ किलोमिटर ट्रान्समिसन लाइन तयार भएको छ। 

पथरैया नदीमा तीनवटा ठूला निर्माणको काम सुरु भएको छ भने पथरैयामा दुई हजार सात सय मिटर तटबन्धमध्ये छ सय मिटर अन्तिम चरणमा पुगेको छ। सिँचाइ प्रणालीको आधुनिकीकरण कार्यअन्तर्गत ३५ वटा संरचना सम्पन्न भई सातवटा निर्माणाधीन अवस्थामा छन्। ३० किलोमिटर बाटो ग्राभेलिङ भएको छ। 

त्यसैगरी मूल इन्टेकदेखि सेटलिङ बेसिनसम्म मर्मत–सम्भार भएको छ। अब विद्युत्गृहमा इलेक्ट्रो मेकानिकल काम सकिनेबित्तिकै रानी, जमरा, कुलरियामा र लम्की नहरबाट पथरैयामा पानी खसाल्ने तयारी पूरा भएको छ। 

आयोजनाका अनुसार कैलालीमा ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले विश्व बैङ्कको लगानीमा पहिलो र दोस्रो चरणमा रानी, जमरा, कुलरियाको १४ हजार तीन सय हेक्टर सिँचाइ गर्न ८.८७५ मिटरको मूल नहर, दक्षिणतर्फको १०.६० किलोमिटर नहर निर्माण भइसकेको छ। 

नेपाल सरकारको लगानीमा लम्कीमा छ हजार हेक्टर सिँचाइ गर्न १४.६५ किलोमिटर नहर बनिसकेको छ भने पथरैयादेखि कान्द्रासम्म १८ हजार हेक्टर सिँचाइका लागि १८.६० किलोमिटर नहरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। 

आयोजनाले कर्णाली नदीबाट प्रतिसेकेन्ड सय क्युसेक पानी मूल नहरमा ल्याएर २० क्युसेक सेटलिङ बेसिनमा बालुवा बगाउन छोड्नेछ। यसरी छोडिएको पानी कर्णाली नदीमै फर्किनेछ। बाँकी ८० क्युसेकले पश्चिमतर्फ लम्की–पथरैया–कान्द्रासम्मको सिँचाइ र दक्षिणी नहरमा ४.७१ मेगावाट विद्युत् उत्पादन भई रानी, जमरा, कुलरिया शाखामार्फत टीकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा सिँचाइ हुनेछ।

ढिलाइप्रति चिन्ता

यो सिँचाइ आयोजनाको पहिलो चरण (२०६७/६८ देखि २०७४/७५) मा १२ अर्ब ३७ करोड ७५ लाख खर्च भएको छ। पहिलो चरणमा नहरबाहेक ११ वटा पुल, ६४ वटा कल्भर्ट, २३७ किलोमिटर सडक स्तरोन्नति र ७० किलोमिटर तटबन्ध भइसकेको छ। 

आयोजनाको दोस्रो चरण (२०७४/७५ देखि २०८०/८१) मा २७ अर्ब ७० करोड २४ लाख खर्च हुनेछ। यसमा १७ अर्ब ५६ करोड ७२ लाख नेपाल सरकार, नौ अर्ब ९५ करोड ५१ लाख विश्व बैङ्क र १८ करोड उपभोक्ता समितिको लगानी भइरहेको छ। आयोजनामा हालसम्म १६ अर्ब २० करोड ७० लाख (लक्ष्यअनुसार ५८.७० प्रतिशत) मात्रै खर्च भएको छ। 

समयमा काम नहुँदा करिब २५ बिघा सामुदायिक वनक्षेत्र नदीले कटान गरेको सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदको गुनासो छ। जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानबहादुर चौधरी कन्सल्ट्यान्ट कम्पनी र ठेकेदार कम्पनीले समयमा काम गर्न नसक्दा तोकिएको प्रगति हुन नसेकेको बताउनुहुन्छ। 

आयोजना निर्देशक केदारकुमार श्रेष्ठ कोभिड, कर्मचारी सरुवा, निर्माणसामग्री अभाव, मूल्यवृद्धि, साना निर्माण व्यवसायीको कमजोर कार्यक्षमताजस्ताका कारणले लक्ष्यअनुसार कार्यप्रगति हुन नसकेको बताउनुहुन्छ। 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू भन्नुहुन्छ, “आयोजनाका काम समयमै सक्नुपर्छ। स्थानीय तहबाट चाहिने सहयोग र समन्वयका लागि तयार छौँ।”

कृषितर्फ ठूलो लगानी

आयोजनाले कृषि कार्यक्रमका लागि समन्वय इकाइ नै राखेर कृषकको क्षमता अभिवृद्धि गर्नुका साथै कृषि उत्पादकत्व बढाउन विभिन्न सहकारी र किसानलाई उपकरण सहयोग गरिरहेको छ। 

एकाइ प्रमुख गोविन्दराज जोशीका अनुसार टीकापुरमा ५८० मेट्रिक टनको बीउ भण्डारण केन्द्र, केरा पकाउने च्याम्बर निर्माण भइसकेका छन्। समूह र किसानलाई तीनवटा कम्बाइन हार्भेस्टर, ९७८ पावरटेलर, ६५३ रिपर, तीनवटा ट्याक्टर, २६ वटा धान थ्रेसर , १३ वटा गहुँ थ्रेसर , पोलिहाउस वितरण गरेको छ। हाल सहकारी र किसानले ब्लकमा बीउ उत्पादन गरिरहेका छन्। एउटा शीतभण्डार निर्माणको तयारीमा छ। पशुपालनमा पनि सहयोग गरिरहेको छ।