• ६ कात्तिक २०८१, मङ्गलबार

कांग्रेसमा देउवा पक्षसँग कोइराला पक्ष आक्रोशित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ८ गते । नेपाली कांग्रेस संस्थापन पक्षले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । काठमाडौंमा शनिबार खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरूले आपत्ति जनाउनुभएको हो । निर्णय नच्याए पार्टीभित्र विद्रोह हुन सक्ने उहाँहरूले चेतावनी दिनुभयो । 

नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण हुनुपर्ने बताउनुभयो । न्यायोचित रूपमा टिकट वितरण नभए आफूहरू विद्रोह गर्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो । समानुपातिक तर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवासँग उहाँले माग गर्नुभयो । 

नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हरेर नबस्न सजग गराउनुभयो । उहाँले भन्नुभयो, ‘म हाम्रै समूहका पदाधिकारीलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईँहरूलाई पनि राम्रो हुनै छैन ।’ 

अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढ्ने चेतावनी दिनुभयो । पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने घोषणा गर्नुभयो । नेता शाहीले भन्नुभयो, ‘निर्वाचनमा टिकट पाइन भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर नेताको दास भएर बस्दैन । टिकटमा न्याय नभए विद्रोह हुन्छ ।’

अर्का नेता बद्रीनरसिंह केसीले समानुपातिक तर्फको सूची पार्टी सभापति देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरू विद्राेह गरेर अघि बढ्न बाध्य हुने बताउनुभयो । देउवा पक्षले निर्वाचनको टिकट वितरणमा एकलौटी गरेको उहाँले आरोप लगाउनुभयो । 

नेता केसीले भन्नुभयो, ‘हामीलाई न्याय हुनुपर्‍यो । सभापति देउवा एउटा गुटको मात्रै नेता भएको देखियो । समानुपातिक तर्फको टिकट दिने काममा एकलौटी भयो ।’ १६ गतेसम्म नसच्चिए त्यसको विकल्पमा आफूहरू अगाडि बढ्ने उहाँले जिकिर गर्नुभयो ।