• ११ मंसिर २०८१, मङ्गलबार

नागेश्वर र राममायालाई प्लस टु रन उपाधि

blog

प्लस टू फाइभ के रनको उपाधि विजेता खेलाडीहरु । तस्बिर : राखेप

काठमाडौं, असोज ८ गते । प्लस टु फाइभ के रनको उपाधि नेपाल पुलिस क्लबका नागेश्वर अहिर र श्रीगङ्गा मावि, जुम्लाकी राममाया बुढाले जित्नुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जित्नुभएको हो । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमी दूरी १५ मिनेट १५.१ सेकेन्डमा पूरा गर्नुभयो । 

पुलिसकै सन्तोषनाथ योगी १५ मिनेट २४.५ सेकेन्डको समय निकाल्दै दोस्रो हुनुभयो । श्रीरत्न चौडनेश्वर माविका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेन्डको समय निकाल्दै तेस्रो हुनुभयो । 

पुरुषतर्फ सञ्जय नेपाली चौथो, विश्वराम कुँवर पाँचौँ र किरण लिम्बू छैटौँ हुनुभयो । मिङमार सिंगी तामाङ सातौँ, अर्जुन राई आठौँ, आशिष कुँवर नवौँ र अभिराज राई दसौँ हुनुभयो । 

महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेन्डमा दूरी पूरा गर्नुभयो । एनआरएन स्पोर्ट्स फाउन्डेसनकी अन्जु खड्का १९ मिनेट ५८.८ सेकेन्डको समय निकाल्दै दोस्रो हुनुभयो । 

ओहारा कार्कीले २० मिनेट १८.४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो हुनुभयो । यस्तै सरस्वती बोहरा, सोनु घतानी, अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र ऊर्जा मधिकर्मी क्रमशः चौथोदेखि दशौँ स्थानमा रहनुभयो ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फका विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै चौथोले १० हजार, पाँचौले ५ हजार र छैटौँदेखि दसौँसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही दुई हजार रुपियाँ प्रदान गरियो । 

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको सञ्चालनमा भएको प्रतियोगिताका दुई सय ५० खेलाडीको सहभागिता थियो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालगायतले पुरस्कार प्रदान गर्नुभयो ।