काठमाडौं, असोज ८ गते । तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजनामा असोज २१ देखि २३ गतेसम्म पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको अवसरमा महिलाको मैत्रीपूर्ण भलिबल समावेश गरिएको प्रतियोगिताका संयोजक एवं जिल्ला भलिबल सङ्घ धादिङका अध्यक्ष अमृत गुरुङले जानकारी दिनुभयो ।
खिर्रेस्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि २० असोजसम्म टिम दर्ताको समय तोकिएको छ । सहभागी टिमले एउटै गाउँपालिकाका ६ जना खेलाडी राख्नुपर्नेछ ।
बाँकी ३ जना खुला रुपमा राख्न पाउनेछ । प्रतियोगिताको विजेतालाई एक लाख, उपविजेतचालाई ५० हजार र तेस्रो हुने टिमलाई ३० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडीले मेडल प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर र सर्भरलाई पनि मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सिद्धलेक गाउँपालिकाले मुख्य प्रायोजन गरेको छ । यसैगरी सहप्रायोजकको रुपमा उग्रचन्डी युवा क्लब तथा सहयोगी संस्थाहरुमा जिल्ला खेलकुद विकास समिति धादिङ, जिल्ला भलिबल सङ्घ धादिङ, सिद्धलेक भलिबल सङ्घ र जीवन ज्योति युवा क्लब छन् ।