• १२ वैशाख २०८१, बुधबार

म्यादी प्रहरीमा मागभन्दा दोब्बर आवेदन

blog

जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको भीड । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, असोज ८ गते । आगामी मङ्सिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले माग गरेको सङ्ख्याभन्दा दोब्बर बढीले आवेदन पेस गर्नुभएको छ । बेरोजगारी समस्या भएपछि युवा युवतीमा छोटो समयका लागि भए पनि रोजगारी प्राप्त हुने हुँदा म्यादी प्रहरीका लागि आकर्षण बढेको हो ।

प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले कार्यालयले माग गरेकोभन्दा दोब्बर आवेदन परेको बताउनुभयो । यस पटकको निर्वाचनका लागि चार सय जना म्यादी प्रहरी आवश्यक पर्ने भए पनि आवेदन दिने अन्तिम दिनसम्म ९२८ जनाको आवेदन परेको छ । जबकि गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ३९३ पदका लागि आवेदन माग्दा ५२४ जनाको आवेदन परेको छ । 

बेरोजगारी समस्याको कारण युवा युवतीमा म्यादी प्रहरीप्रति आकर्षण बढेको बताउनुभयो । कुल आवेदन दिएकामध्ये २१५ जना महिला र ७१३ जना पुरुष रहनुभएको छ । शैक्षिक योग्यताका हिसाबले पनि ६९८ जना साधारण लेखपढ गर्न सक्ने हुनुहुन्छ, दुई सय जना एसइई उत्तीर्ण, कक्षा १२ उत्तीर्ण २९ जना र एक जना महिला स्नातक उत्तीर्ण रहेको प्रहरीले जनाएको छ ।

उमेर समूह अन्तर्गत पनि १८ देखि २० वर्षका २७८ जनाले आवेदन दिनुभएको छ । २१ देखि ३० वर्ष उमेर समूहका ५४९ जनाको आवेदन परेको छ । त्यसैगरी ३१ देखि ४० वर्षका आवेदन दिनेमा ८९ जना, ४१ देखि ५४ वर्ष उमेर समूहका १२ जनाको आवेदन पेस भएको छ । दशैं बिदा परेको र लगत्तै निर्वाचन भएका कारण पनि जिल्ला बाहिर उच्च शिक्षा अध्ययन गर्दै आउनुभएका युवा युवतीले पनि म्यादी भर्नाका लागि आवेदन दिएकाले सङ्ख्या बढेको हो ।  

महिलाको आकर्षण  

कुनैबेला प्रहरी सेवा जान नमान्ने महिला हाल आएर म्यादी प्रहरीमा आकर्षित भएका छन् । यस पटकको म्यादी भर्नाका लागि एक जना स्नातक उत्तीर्णसहित २१५ जना महिलाले आवेदन दिएको प्रहरीले जनाएको छ । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा ९९ जनाले आवेदन दिनुभएको थियो । म्यादी प्रहरीमा आवेदन दिनु भएकी खार्पुनाथ गाउँपालिका –२ किरण रावलले बेरोजगारी समस्या भोगिरहेका बेला म्यादीमा आवेदन दिएको बताउनुभयो ।