• १ माघ २०८१, मङ्गलबार

कन्या मन्दिर वातावरण सम्पदा नमुना विद्यालय हुन सक्छ : महानगर उपप्रमुख डङ्गोल

blog

काठमाडौंं, असोज ८ गते । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोल र शिक्षा सल्लाहकार रेशु अर्यालले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमको निरीक्षण गर्नुभएको छ । यसका लागि उहाँहरू शुक्रबार क्षेत्रपाटीस्थित कन्या मन्दिर विद्यालय पुग्नुभएको थियो । विद्यार्थीहरूले खाजा खाने समय मध्यान्ह १ः३० बजे विद्यालय पुगेर उहाँहरूले करिब एक घण्टा अवलोकन गर्नुभयो ।

त्यस क्रममा उहाँहरूले दिवा खाजा पकाउने ठाउँ, खाने ठाउँका बारेमा जानकारी लिनुभएको थियो । यसैगरी उहाँहरूले कक्षा कोठाहरू, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, स्मार्ट सिकाइ प्रविधि, पुस्तकालय, स्यानिटरी प्याड भेन्डिङ मेसिनको प्रयोगको अवलोकन गर्नुभएको थियो ।

उपप्रमुख डङ्गोलले भन्नुभयो, “दिवा खाजा तयार गर्ने जिम्मेवारी अभिभावकलाई दिनु कन्या मन्दिरको राम्रो पक्ष लाग्यो । अब खानाको गुणस्तर बढाउँदै लैजानुपर्छ । काठमाडौंका विद्यालयहरूलाई नमुना बनाउने क्रममा विद्यालयको विशेषताअनुसार फरक फरक प्रकृतिको बनाउनुपर्छ । दरबार हाइस्कुलको विशेषता कन्या मन्दिरसँग नमिल्न सक्छ । कन्या मन्दिर वातावरण सम्पदा नमुना विद्यालय हुन सक्छ । किनभने यो ऐतिहासिक इखा पुखुसँग जोडिएको छ । पुनर्निर्माणपछिको सम्पदामैत्री संरचना भएको छ ।”


यसैगरी, शिक्षा सल्लाहकार अर्यालले भन्नुभयो, “सामुदायिक विद्यालयमा सहरका विपन्न परिवारबाट नानीबाबु अध्ययनका लागि आउँछन् । खाजाले एकातिर उनीहरूको शारीरिक विकासमा सहयोग पुगेको छ भने अर्कोतिर विद्यालय आउने वातावरण बनेको छ । यो धेरै राम्रो कार्यक्रम हो ।”

विद्यालयका निमित्त प्रधानाध्यापक घनश्याम न्यौपानेले भन्नुभयो, “हाम्रो विद्यालयमा आउने कतिपय विद्यार्थी भोकै आउने पनि छन् ।” घरमा पर्याप्त खानेकुरा नभएका अभिभावकका लागि यो कार्यक्रमले ठूलो राहत दिएको उहाँको भनाइ छ ।  

काठमाडौं महानगरपालिकाभित्रका ८९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन छ । यी विद्यालयमा अध्ययनरत करिब ३२ हजार विद्यार्थीले दैनिक खाना खाने गरेका छन् । शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी भन्नुहुन्छ, “सरकारले शिशुदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दैनिक १५ रुपियाँ दिने गरेको छ । काठमाडौं महानगरपालिकाले त्यसमा १० रुपियाँ थपेर २५ रुपैयाँ बराबरको खाजा खुवाउने व्यवस्था गरेको छ । कक्षा ७ र ८ का लागि महानगरले प्रतिव्यक्ति २५ रुपैयाँ दिने गरेको छ ।”

शिक्षा अधिकारी सुवेदीले भन्नुभयो, “विद्यार्थीको हाजिरी सञ्चालक समितिको अध्यक्ष र प्रधानाध्यापकले प्रमाणित गरेर पठाएपछि त्यसैका आधारमा भुक्तानी हुन्छ ।”

कन्या स्कुलले आइतबार सुख्खा रोटी र मिक्स तरकारी, सोमबार खाना, मिक्स तरकारी र दालको खुनाउने तालिका भान्छा कोठामा टाँसेको छ । मङ्गलबार हलुवा र मिक्स तरकारी, बुधबार शाहाकारी चाउमिन, बिहीबार खीर र मिक्स अचार, शुक्रबार अण्डा-वेलंग, सिमी र पुरी खुवाउने तालिका छ ।