• १३ साउन २०८१, आइतबार

जुम्लाको गुमनाम गिडितालमा पहिलो पटक पुगे सरकारी टोली

blog

जुम्लाको गिडितालमा पहिलो पटक पुगेको सरकारी टोली । तस्बिर : नेत्र शाही जुम्ला

नेत्र शाही 

जुम्ला, असोज ८ गते । जुम्लाको तातोपानी गाउँपालिकामा रहेको गिडिदह (ताल) मा पहिलो पटक सरकारी टोली पुगेको छ । 

जुम्लाको ठूलो तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदह तालको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्वन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी, इन्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुसहित त्यहाँ पुगेको हो । 

तातोपानी गाउँपालिकाबाट हिँडेर आउन जान चार दिन लाग्ने जोखिम रहेको उक्त क्षेत्रमा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौंलागाई, उपाध्यक्ष रेवति रावल नेतृत्वको जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापासहित इन्जिरनियर तथा कर्मचारी टोली, स्थानीय र सरोकारवाला निकाय र नेपाल पत्रकार महासङ्घ जुम्लाको नेतृत्व पत्रकारहरुसहित ७५ जनाको समूह गिडिदह सम्मेलनमा सहभागी भएका थिए ।

समुन्द्र सतहदेखि ३४८२ मिटर उचाइमा रहेको तातोपानी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा गिडिताल (दह) मा सम्मेलन सम्पन्न भयो । स्थलगतरुपमा सरकारी तहबाट कोही पनि निकाय उक्त तालमा पुग्न सकेको थिएन । 



उक्त तालको हालसम्म लम्वाई, चौडाइ र गहिराइ समेत नाप्न सकिएको छैन् । वनजङ्गल, झाडी, खोलानाला, पाटनको लामो यात्रा रहेको सो दह क्षेत्रमा बाटो पनि नभएकाले हालसम्म कोही पनि निकाय त्यहाँ पुग्न नसकेको र पर्यटकीय पूर्वाधार तयार हुन नसकेका कारण पहिलो पटक सम्मेलनको आयोजना गरिएको वडा नम्बर ४ का अध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिनुभयो ।

गिडिदह सम्मेलनले १४ बुँदे घोषणापत्र जारी एवम् कार्यपत्र प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलगाईले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रमा गिडिदह (ताल) को पर्यटन विकासका लागि विस्तृत डिपिआर बनाई डिपिआरका कार्यक्रम अगाडि बढाउने, गिडिदह पेरिफेरिका अन्य दह, धार्मिक क्षेत्र, जडीबुटी वनस्पति, पाटन, जनावर, वनस्पति, जनवार र पंक्षीको प्रचार प्रसार गर्ने, गिडिताल पर्यटन प्रवर्धनका लागि सङ्घीय सरकार, प्रदेस सरकार र गैर सरकारी निकायमा पहल गर्ने, धार्मिक तथा पाटन क्षेत्रको प्रवर्धन गर्ने, जडिवुटि प्रवर्धन गर्ने, यस क्षेत्रमा रहेका जङ्गली जनावरको संरक्षण गर्ने, त्यहाँबाट गिडिदह घोषणापत्रमा उत्पादित पानीबाट बिजुली निकाल्न पहल गर्ने, गिडिताल जान गिडिखोला गाउँ हुँदै फुलचाउले पाटन, लामाचौरसम्म सड्क र डिडि दहसम्म साइकल ट्रेल निर्माण गर्ने उल्लेख छ ।

सम्मेलनमा गाउँपालिका उपाध्यक्ष रेवति रावलले महिलाहरु जेखिम ठाउँमा जान सक्दैनन, जानु हुँदैन भन्ने बिषय गडिदह सम्मेलनले उदाहरण दिएको बताउनुभयो । सो स्थानमा उपाध्यक्ष रावल सहित तीन जना महिलाको सहभागिता रहेको थियो । उहाँले गिडिदह जुम्लाको आर्थिक समृद्धिको क्षेत्र हुने भएकाले पर्यटक आकर्षण हुने पूर्वाधार तयार गर्न आवश्यक रहेको बताउनुभयो ।



वडाध्यक्ष अमरबहादुर रोकायाले अहिले पनि गिडिदह गुमनाममा रहेकाले यसको लम्बाइ, चौडाइ, गहिराइसहितको तथ्याङ्कका लागि पहल हुने बताउनुभयो । दह क्षेत्रको हालसम्म कुनै प्रकारको तस्बिर र भिडियो पनि सार्वजनिक हुन नसकेको वस्थामा यस पटक पत्रकार तथा सहभागी टिमबाट तस्बिर सार्वजनिक हुने भएका छन् ।

तालको वरिपरि ठूला पाटन, घना भण्डार वन, धार्मिक स्थलहरु उत्तिकै रहेका र बाघ, भालु, कस्तुरी मृग पाइने स्थानीय दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । सो क्षेत्रका पाटन र जङ्गलमा उत्तिकै दर्जनौ जडीबुटी छन् । गिडितालमा गएपछि भूतप्रेतले ज्यान लिने भनिने परम्परागत अन्धविश्वास यस पटक तोडिएको छ ।

तालको वरिपरि डोरेटो बाटो नहुँदा परिक्रमा गर्न मिल्दैन, चट्टान र घना जङ्गलको गहिरो भागमा यो ताल भएकाले गोरेटो बाटो, धर्मशाला आवश्यक भएको र यस बिषयमा प्रथामिकता दिइने तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो । यस तालको अन्दाजी लम्बाइ २ किलोमिटर हुनसक्ने बताइएको छ । तालवरिपरि डरलाग्दो भीर भएकाले यसको लम्बाइ नाप्न नसकिएको तातोपानी गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले तालको मापन गर्न चाँडै पहल थालिने बताउनुभयो ।