• १३ साउन २०८१, आइतबार

जीपी कोइराला स्वास्थ्य केन्द्रमा पत्थरी सेवा सञ्चालन

blog

अमरराज नहर्की

दमौली, असोज ८ गते । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पित्त थैलीको पत्थरी सेवा सञ्चालन भएको छ ।  केन्द्रमा बिहीबार गरिएको पत्थरी शल्यक्रिया सफल भएको छ । शुक्लागण्डकी–७ की ६१ वर्षीया कुमारी गाहामगरको पित्तथैलीको पत्थरीको मेजर अप्रेसन सफलतापूर्वक गरिएको केन्द्रले जनाएको छ । जिल्लामै पहिलो पटक पत्थरी सफल अप्रेशन गरिएको केन्द्रको दाबी छ । 

सर्जन डा. परिवर्तन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा. रमेश घिमिरे, डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया  गरेको केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । “तनहुँ जिल्लामै पहिलो पटक ‘मेजर अप्रेसन’ सफलतापूर्वक सम्पन्न भएकोले खुसी भएका छौं, निर्देशक डा। श्रेष्ठले भन्नुभयो । सफल भएकोले दैनिक रुपमा शल्यक्रिया सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 

 केन्द्रका अनुसार शल्यक्रिया गर्ने क्रममा अस्पतालमा कार्यरत नर्सिङ् अधिकृत रिना पौडेल, स्टार्फ नर्सहरु दिलकुमारी भुजेल, सृजना कुँवर, पूजा थापा, एलिसा थापा, रीता श्रेष्ठ, सुस्मिता महत सहयोगीमा दिलबहादुर विष्ट, शन्तुमाया ढुङ्गाना र नवराज पौडेलको टोली  थियो । 

केन्द्रले २०७३ साल साउनदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा तनहुँ, लमजुङ्, पाल्पा, स्याङजा, नवलपुरलगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेको अस्पतालका लेखा अधिकृत वासुराज दाहालले जानकारी दिनुभयो ।