• १२ मंसिर २०८१, बुधबार

संविधान संरक्षकबाट संविधान मिचियो : अध्यक्ष दाहाल

blog

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल ।

गोरखापत्र अनलाइन
काठमाडौं, असोज ७ गते ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताउनुभएको हो ।

उहाँले संरक्षकबाट नै जानिबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गर्नुभयो ।


अध्यक्ष दाहालले भन्नुभयो, “हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरू, मजदुरहरू, सुकुम्वासीहरू, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरूक गरिराख्ने, सङ्गठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ । अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानिबुझी, नजानेर, झुक्किएर भन्ने होइन । जानिबुझी संविधान मिच्ने जो काम भएको छ । यो सामान्य होइन ।”

उहाँले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको र यो हालसम्म नरोकिएको बताउनुभयो । उहाँले आफूहरूले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको औँल्याउनुभयो ।

यो हजारौँको बलिदानबाट, लाखौँलाख किसानहरूको, मजदुरहरू, उत्पीडितहरूको आन्दोलनबाट प्राप्त भएका उपलब्धि खोस्ने, अपहरण गर्ने षड्यन्त्रकै एउटा कडी रहेको उहाँले बताउनुभयो । जनताले र परिवर्तनकारी शक्तिहरूको एकताले मात्रै, जनताको पहलले मात्रै यो षड्यन्त्र रोकिने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले संविधान खुलेआम मिच्ने जो प्रयास भएको छ, यसलाई पनि हामीले आम जनताको बीचमा गएर कसरी प्रतिगमन फेरि अगाडि आउँदै छ, कसरी प्रतिक्रान्तितिर देशलाई लैजाने षड्यन्त्र भएको छ भन्ने कुरा हामीले आम जनतालाई शिक्षित, जागरूक तुल्याउने र आन्दोलित गरेर मात्रै प्रतिक्रान्तिकारी षड्यन्त्रहरूलाई, प्रतिगामी षड्यन्त्रहरूलाई परास्त गर्न सकिन्छ ।”


उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उहाँको भनाइ छ । उहाँले परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरूले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणीकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरू भइराखेका छन् । सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरू अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्न सक्छ परिवर्तनलाई । त्यसको रक्षाको लागि एकताबद्ध भएर अगाडी बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो ।”