• १३ साउन २०८१, आइतबार

अतिक्रमण गरी बनाइएका संरचना हटाइने

blog

तनहुँ समाचारदाता 

तनहुँ, असोज ७ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ। सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो। 

अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले हालै ३५ दिनको सार्वजनिक सूचना जारी गरिसकेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भएकाले हटाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। 

सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकारभित्र सञ्चालन भएका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडक ओगटी गरिएका निर्माण कार्य, सार्वजनिक जग्गा तथा सडकको क्षेत्राधिकारभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउन आग्रह गर्दै ३५ दिनभित्र उक्त संरचना नहटाइए नगरपालिकाले नै हटाउने न्यौपानेले बताउनुभयो। 

अतिक्रमित पैदलमार्ग खाली गरिने 

यसैबीच आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदलमार्ग खाली गराउने कार्य अघि बढाएको छ। सुरुमा वडा नम्बर ३ आँबुखैरेनी बजारमा अतिक्रमित पैदलमार्ग खाली गराइने र अन्य वडामा पनि अतिक्रमण गरेको क्रमशः हटाइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले बुधबार ३५ दिने एक सूचना जारी गर्दै मुख्य सडकको नालाबाट तीन मिटर छाडेर पैदलमार्ग खाली गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो। 

 आँबुखैरेनी बजार चोकदेखि गोरखा रोडअन्तर्गत मनकामना चोकसम्म र गाउँपालिका चोकसम्मको सडकमा रहेको मुख्य नालाबाट तीन मिटरभित्रको दायाँबायाँ भाग छाडेर पैदलमार्ग खाली गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। “अतिक्रमित भागलाई हटाई तीन मिटर पैदलमार्ग निर्माण गरी व्यवस्थित गर्न लागेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो। निर्माण भएका कुनै पनि संरचना हटाउने, निर्माण कार्य बन्द गर्ने, ठेलागाडा हटाउनेलगायत अन्य सम्पूर्ण संरचना हटाइने गाउँपालिकाले जनाएको छ।