• १३ साउन २०८१, आइतबार

चाडपर्व लक्षित अनुगमन सुरु

blog

फाइल तस्बिर

कास्की समाचारदाता 

कास्की, असोज ७ गते । पोखरा महानगरले दशैँ–तिहारलाई लक्षित गरी अनुगमन सुरु गरेको छ। चाडबाडका बेला मनपरी मूल्य, म्याद गुज्रेका सामान बिक्री गर्ने जस्ता सङ्घसंस्थामा महानगरले अनुमगन सुरु गरेको हो। स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधिको टोलीको यो पहिलो अनुगमन पनि हो। 

पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसलबाट अनुगमन सुरु गरेको छ। पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख एवं महानगर बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो। 

गुरुङसहित कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य निरीक्षक अनुषा कार्की, नापतौल तथा गुणस्तर कार्यालयका विपिन पुरी, उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, पोखरा महानगरका सहायक प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसी, भेट अस्पताल कास्कीका मासु निरीक्षक डा. अनन्त कोइराला, महानगर पशुशाखा प्रमुख नवराज अधिकारी, महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेल र पत्रकारहरूको संयुक्त टोलीले अनुगमन गरेको हो।

अनुगमनका क्रममा समितिले दर्ता, मूल्यसूची र सरसफाइ नभएका र मापदण्डको पालना नगरी सञ्चालन गरेका २५ जना मासु व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको छ। २५ वटा मासु पसल अनुगमन गर्दा सबैमा खुला रूपमा मासु राखेर बिक्रीवितरण गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएकाले उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाही गरिएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “२५ जनामध्ये १३ जनालाई पाँच हजारका दरले जरिवानासहित गल्ती नदोहो-याउने सर्तमा छाडिएको र बाँकीलाई तारेख दिइएको छ।” अनुगमन गरिएका मासु पसल दर्ता नभएका र मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनस्वास्थ्यलाई ध्यानमा राखेर अनुगमन गरेको बताउँदै दर्ता नभएको र सरसफाइमा समस्या देखिएको बताउनुभयो। उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले मासु खुला रूपमा राखिएको, मापदण्डविपरीत पसल सञ्चालन भएको र प्रजनन अङ्ग पहिचान नभएका पशुको मासु बिक्री भएको देखिएको बताउनुभयो।

पोखराको रामबजार, जिरो किमि, बगर, ट्याक्सीचोक, अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमन गरिएको हो। त्यस्तै अनुगमन समितिले लिङ्ग पहिचान नभएको शङ्कामा सात केजी मासु जफत गरेको शाखा प्रमुख अधिकारीले बताउनुभयो।

महानगरपालिकाका कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङले दशैँ र तिहारमा मासुको अत्यधिक प्रयोग बढ्ने भएकाले मासुबाट अनुगमन सुरुवात गरिएको बताउनुभयो। “यो अनुगमनको सुरुवात मात्रै हो,” उहाँले भन्नुभयो, “अब नियमित रूपमा हुन्छ, खाद्यान्नलगायतका पसलहरूमा पनि हुन्छ।” उहाँले विगतमा भन्दा व्यवसायीहरू सुधारिएको र नागरिकहरू पनि सचेत भएको बताउनुभयो। “पैसा तिरेपछि उपभोक्ताले गुणस्तरीय सामान पाउनुपर्छ। उपभोक्ता पनि सचेत र सजग हुनुपर्छ। नागरिकको स्वास्थ्यप्रति महानगर गम्भीर छ,” उहाँले भन्नुभयो। 

पोखरा महानगरपालिकाको बजार अनुगमनअन्तर्गत खाद्य सामग्रीको पनि अनुगमन भएको छ। पोखरा महानगर वडा नम्बर १७ का तीन खाद्य स्टोर्समा अनुगमन गरेको हो। अनुगमनमा लेबल नभएका, म्याद कटेका र पसल नवीकरण नभएको फेला परेको थियो । छोरेपाटनमा रहेको एबीसी स्टोर्सबाट म्याद कटेका छ हजार २९० रुपियाँ बराबरको खाद्य सामग्री नष्ट गरेको छ। कोसेली तेल १० लिटर, जोन्सन एन्ड जोन्सन लोसन चार थान, बेकिङ पाउडर नौ बट्टा, भ्यासलिन तीन थान, पोका पाउडर पाँच थान नष्ट गरिएको महानगर अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिनुभयो।