• १२ असोज २०८१, शनिबार

घाइतेको उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्री खाणको निर्देशन

blog

गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

काठमाडौं, ६ असोज । गृहमन्त्री बालकृष्ण खाणले रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा भएको यात्रुवाहक बस दुर्घटनामा घाइतेको उद्धार र उपचारमा हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिनुभएको छ। 

गृह प्रशासन र रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्री खाणले घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउन  हेलिकोप्टरको प्रयोग गर्न निर्देशन दिनुभएको हो। 

गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि दुर्घटनामा घाइते भएकाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा जान लागेको जानकारी दिनुभयो। 

काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका वडा नम्बर २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ घाइते छन्। 

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिनुभयो। गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिनुभएको थियो। 

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। गृहमन्त्री खाणले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घाइतेको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो।

भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर सात जनाको मृत्यु भएको र १७ जना घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ। काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको हो।