• १० मंसिर २०८१, सोमबार

सन्दीप क्यानको सम्पर्क बाहिर

blog

फाइल तस्बिर ।

काठमाडौं, असोज ६ गते । १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्पर्कमा हुनुहुन्न ।

क्यानका सचिव प्रशान्तविक्रम मल्लले सुरुमा सन्दीपले क्यानलाई कानुनी उपचारका लागि सहयोग गर्न र राम्रो वकिल खोज्न आग्रह गरे पनि पछिल्लो समय सम्पर्क बाहिर रहेको बताउनुभयो ।

‘‘सन्दीप कहाँ छन् ? के गरिरहेका छन् ? हामीलाई थाहा छैन । पछिल्लो समय फोन पनि लागेको छैन । नेपाल आएर अनुसन्धानमा सहयोग गरे राम्रो हुन्थ्यो भन्ने हाम्रो सोच हो । त्यसले उनलाई पनि फाइदा पुग्छ । आफ्नै परिवारमार्फत वकिल खोजेर कानुनी सल्लाह गरिरहेको छ भन्ने पनि सुनेका छौँ । तर, के भइरहेको छ, क्यानलाई थाहा छैन,’’  मल्लले गोरखापत्र अनलाइनसँग भन्नुभयो ।

व्यक्तिवादी मुद्दा भएकोले क्यान यस घटनाबाट बाहिर रहेको पनि मल्लले बताउनुभयो । ‘‘हामीले कुनै इन्टरफेयर गर्ने कुरो भएन । नेपाल आएर कानुनी लडाइँ लडोस् भन्ने शुभेच्छा मात्र हो । उसलाई नेपाल ल्याउने र खोजी नीति गर्ने निकाय प्रहरी प्रशासन नै हो,’’ मल्लले भन्नुभयो ।

वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेलिरहेकै अवस्थामा आरोप लागेपछि सन्दीप एकाएक सम्पर्कविहीन हुनुभएको हो । सन्दीपविरुद्ध भदौ २१ गते एक किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

सन्दीपको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसैको अघिल्लो दिन भदौ ५ गते सन्दीपेले आफूमाथि जबरजस्ती करणी गरेको उजुरी किशोरीले प्रहरीमा दिएकी थिइन ।

ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा सन्दीपसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् ।

किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइ सकेको छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध भदौ २३ गते पक्राउ पुर्जीसमेत जारी गरेको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न भदौ २३ गते नै सन्दीपलाई कप्तान र राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा पर्नुभएका सन्दीप इन्डियन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न पाउने भाग्यमानी खेलाडी हुनुहुन्छ । कम उमेरमा खेलेरै करोडपति बन्नुभएका सन्दीपलाई क्यानले २०७८ साल मङ्सिर २९ गते कप्तान नियुक्त गरेको थियो ।