• १३ साउन २०८१, आइतबार

अर्गानिक प्रदेश बनाउने योजना चुनौतीपूर्ण

blog

बुलबुले समाचारदाता

सुर्खेत, असोज ६ गते । कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्गानिक उत्पादनको ‘हब’ बनाउन विभिन्न कार्यक्रम र योजना ल्याएको छ। अनुभवी किसानहरू भने सरकारको अर्गानिक प्रदेश बनाउने योजना कार्यान्वयन सहजै सम्भव नभएको र चुनौतीपूर्ण रहेको बताउँछन् तर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने सरकारको नीति र कार्यक्रमको प्रभावले पछिल्ला वर्षमा प्राङ्गारिक मलको प्रयोग बढ्दै गइरहेको दाबी गरेको छ।

दैलेखको दुल्लु नगरपालिका–१० का दीपबहादुर थापाले व्यावसायिक तरकारी खेती गर्न थालेको एक दशक हुन थाल्यो। उहाँले गाउँघरमै प्राङ्गारिक मल पाइने भए पनि बारीमा त्यसको प्रयोग गर्नुहुन्न। रासायनिक मल प्रयोग गर्दा उत्पादन बढ्ने विश्वासका कारण थापा प्राङ्गारिक मल तरकारी खेतीमा प्रयोग नगरेको बताउनुहुन्छ।

वीरेन्द्रनगर नगरपालिका–३ का श्याम पुरीले व्यावसायिक तरकारी खेती गर्न थालेको तीन दशक नाघ्यो। २०५३ सालदेखि व्यावसायिक खेतीमा लागेका उहाँले पछिल्ला वर्षमा वीरेन्द्रनगरमै जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आउनुभएको छ। उहाँले तरकारीमा रोग तथा कीरा नष्ट गर्न र उत्पादन बढाउन रासायनिक विषादी प्रयोग गर्ने गरेको बताउनुभयो। उहाँले कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेशको आधार तयार गर्न भनी सुरु गरेको अर्गानिक प्रवद्र्धनका कार्यक्रम प्रभावकारी नभएको बताउनुभयो।

वीरेन्द्रनगर नगरपालिका–४ की रम्भा गिरी पनि व्यावसायिक रूपमा तरकारी खेती गर्नुहुन्छ। उहाँले अर्गानिक उत्पादनमा जोड दिँदै आएको बताउनुभयो। गिरीले तरकारी खेती गर्न थालेको पाँच वर्ष भयो। सुरुवातीमा रासायनिक मल प्रयोग गरे पनि अहिले प्राङ्गारिक मल हालेर तरकारी उत्पादन गरिरहेको उहाँले सुनाउनुभयो। गाईबस्तुको गोबरबाट प्राङ्गारिक मल उत्पादन गरी बिक्रीवितरणसमेत गर्दै आइरहेको गिरीको भनाइ छ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायत रासायनिक मलको प्रयोगमा कमी आउँदै गएको दाबी गर्नुहुन्छ। मन्त्रालयसँग भने प्राङ्गारिक मल प्रयोगको अवस्थाबारे यकिन तथ्याङ्क छैन। अबको केही दिनमा सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो। बजेट र कार्यक्रममा यस विषयले प्राथमिकता पाएको उहाँको भनाइ छ।

मन्त्रालयले रासायनिक मलको प्रयोग घट्दो क्रममा रहेको बताए पनि प्रदेशका अधिकांश जिल्लामा अहिले पनि कृषि उत्पादनमा यही मलको माग हुँदै आएको छ। रासायनिक मलको माग अत्यधिक रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार गत वर्ष सात हजार मेट्रिकटन रासायनिक मल माग भएकोमा १८ सय मेट्रिकटन मल उपलब्ध भएको थियो। चालू आर्थिक वर्षको यो अवधिसम्म किसानलाई तीन सय मेट्रिकटन रासायनिक मल मात्रै उपलब्ध गराइएको जानकारी श्रेष्ठले दिनुभयो। यो वर्ष मागअनुसार आपूर्ति नहुँदा धेरै किसानले रासायनिक मल पाउन नसकेको बताइएको छ। 

प्रदेश सरकारको नीति रासायनिक मलको प्रयोग न्यूनीकरण गर्ने भए पनि त्यसअनुसार विकल्पको खोजी भने हुन नसकेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।