• १३ साउन २०८१, आइतबार

बेगनास र रूपातालको सदुपयोग

नयाँ प्रविधिबाट विद्युत् निकालिने

blog

रमेश पौडेल

पोखरा, असोज ६ गते । तालैतालको सहर पोखरामा बेगनास र रूपातालको पानी सदुपयोग गर्न नयाँ प्रविधिको प्रयोग गर्न छलफल थालिएको छ। तालको पानी पम्प स्टोरेज गरी विद्युत् उत्पादन गर्ने आयोजना निर्माण हुने भएको छ।  यसका लागि आवश्यक प्रक्रिया अगाडि बढेको जनाइएको छ। नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिका–३१ मा पर्ने बेगनास र रूपातालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवालासँग छलफल गरेको हो।

पोखरा लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रूपा तालमा खसालेर करिब १५० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। बेगनासतालबाट पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रूपातालमा जाने र पुनः बिजुलीकै सहायताले बेगनास तालमा फर्कने विज्ञ प्रकाश गौडेलले बताउनुभयो। 

बेगनास र रूपातालबीचमा रहेको अग्लो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिने प्राधिकरणको लक्ष्य रहेको छ। विद्युत्को अत्यधिक माग हुने समयमा करिब चार घण्टा विद्युत् उत्पादन गर्न योजना अगाडि बढाएको विज्ञ गौडेलले बताउनुभयो। रूपातालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनासतालमै खसालिनेछ।  विद्युत् उत्पादनपछि रूपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन करिब १२५ मेगावाट विद्युत् आवश्यक पर्नेछ। 

रूपातालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुवै तालकोे प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थालाई कुनै प्रभाव नपार्ने प्राधिकरणको विश्वास रहेको छ। 

नेपालका लागि पम्प स्टोरेज जलविद्युत् नयाँ प्रविधि हो। यो आयोजना सम्पन्न गर्न करिब २० अर्बको लगानी लाग्ने प्राधिकरणको अनुमान छ। माथि डाँडाबाट ६८ मिटर हेडमार्फत पानी झारे विद्युत् उत्पादन गर्न सकिनेछ। सरकारले प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत् आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ। आयोजनाबाट उत्पादन हुने बिजुली चार किलोमिटर दूरीको २२० केभी लेखनाथ सब–स्टेसनमा जोडिने प्राधिकरण इन्जिनियिरिङ विभागका प्रमुख रामजी भण्डारीले बताउनुभयो।