• १३ साउन २०८१, आइतबार

दशैँअघि नै ग्रामीण सडक सुधार

blog

बागलुङ समाचारदाता

बागलुङ, असोज ६ गते । बागलुङका स्थानीय तहले बर्खाको समय अवरुद्ध भएका ग्रामीण सडक धमाधम खुलाउन थालेका छन्। दशैँ र तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा अधिकांश स्थानीय तहले ग्रामीण सडक मर्मत सुरु गरेका हुन्। 

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिका केन्द्र जोड्ने स्थानीय सडकको मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताउनुभयो।  

चाडपर्व मनाउन गाउँ फर्किने यात्रुको सहजतालाई ध्यानमा राखेर बर्खाको समयमा झरेको पहिरो हटाउने, नाली काट्ने र खाल्डो पुर्नेजस्ता काम थालेको आचार्यले जानकारी दिनुभयो। 

“दशैँमा नगरवासीलाई सहज सडकमार्फत ओहोरदोहोर गर्ने वातावरण बनाउन नगरप्रमुखको निर्देशन थियो” आचार्यले भन्नुभयो, “हामीले सबै वडामा मजदुर र एक्साभेटरको प्रयोग गरेर सडक मर्मतको काम गर्दै छौँ।”

जैमिनीले बागलुङ–कुश्मीशेरा सडकको कुश्मीशेरा सरङ्गे खण्ड मर्मतको काम सकेको छ। सबै वडाका अध्यक्षहरूको सक्रियतामा सडक मर्मतको काम भइरहेको आचार्यले बताउनुभयो। अर्को बर्खा नलाग्ने बेलासम्मका लागि सडक सहज हुने गरी मर्मत गरिएको उहाँले बताउनुभयो। बरेङ गाउँपालिकाले पनि दशैँ लक्षित सडक मर्मतको काम थालेको छ। “खहरे खोलाका कारण सडकमा सवारी चल्नै नसक्ने अवस्था छ, कच्ची सडक भलबाढीले क्षतविक्षत बनाएको छ” गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “चाडपर्वको बेला नागरिकलाई सहजताका लागि सडक मर्मतको काम थालेका छौँ ।” काठेखोला गाउँपालिकाले हरेक वडालाई दुई लाख रुपियाँ बजेट दिएर सडक मर्मत गर्न लगाएको छ । “सडक मर्मतको काम भइरहेको छ तर वर्षा रोकिएको छैन” गाउँपालिका अध्यक्ष राजु थापाले भन्नुभयो, “दिनभर सडक बनाउने, रातभर पानीले बगाउने भइरहेको छ ।”

बागलुङ नगरपालिकाले पनि ग्रामीण क्षेत्रका सडक मर्मतको काम थालेको छ। नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडक कच्ची भएका कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ। 

यस वर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकको अवस्था सुधार गर्नुपर्ने माग नागरिकस्तरबाट आएकाले सडकलाई दशैँअगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो। बागलुङ नगरपालिका–१० दवल्याङमा रहेको पहिरोमा सडक खुलाउने विषयमा समेत नगरपालिका लागिपरेको छ। गत वर्ष खसेको पहिरो नरोकिँदा वर्षाभरि नै बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अवरुद्ध हुने गरेको छ।