• १४ वैशाख २०८१, शुक्रबार

साझा नाम ‘सन्थाल’ राख्न माग

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड असोज ४ गते । पूर्वी नेपालको झापा, मोरङ सुनसरीमा बस्दै आएका आदिवासी लोपोन्मुख सन्थाल समुदायले आफ्नो समुदायको पहिचानको साझा नाम ‘सन्थाल’ राख्न र जनगणनाबाट सतार हटाउन सरकारसँग माग गरेका छन्। 

यसअघि सन्थाल, सन्ताल वा सान्ताडमध्ये के राख्ने भन्नेमा लामो समयदेखि यो समुदायमा विवाद रहँदै आएको थियो। उनीहरूले अब ‘सतार’ शब्द हटाएर वास्तविक थर लेख्ने अभियानमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘सतार’ शब्दले आफ्नो समुदायलाई होच्याउने, अपमानित गर्ने, भावनामा ठेस पु¥याएको भन्दै उनीहरूले त्यसलाई तत्काल हटाउन सरकारसँग माग गरेका छन्। झापाको कनकाई–३ स्थित सुरुङ्गामा सन्थाल समुदायका प्रतिनिधि संस्था, अगुवा, बुद्धिजीवी, जनप्रतिनिधिसहितको गोलमेच छलफलबाट विवाद टुङ्ग्याउँदै समुदायको पहिचान, प्रतिष्ठा र अधिकारको लडाइँमा एकजुट भएर अघि बढ्ने सहमति जुटेको हो। उनीहरूले पहिचानको साझा नाम ‘सन्थाल’ पारित गरेका हुन्।

“समुदाय बुझाउने नाम सन्थाल, सन्ताल, सन्ताड के राख्ने भन्नेमा समुदायभित्रै लामो समयदेखि फरक तथ्यका आधारमा विवाद भई विभाजत रहँदै आएको अवस्थामा समुदायबीचको एकता, सद्भाव र अधिकार प्राप्तिको सवाललाई प्राथमिकतामा राख्दै, नेपाल र भारतको संविधानमा समेत ‘सन्थाल’ उल्लेख भएको मनन गर्दै हाम्रो समुदायको पहिचानको सम्मानित र साझा नाम  ‘सन्थाल’ लेख्न लेखाउन हामी सहमत छौँ,” सहमतिपत्रमा उल्लेख छ। त्यस्तै सन्थाल समुदायलाई होच्याउने, अपमानित गर्ने, भावनामा ठेस पु¥याउने ‘सतार’ शब्द नागरिकता, नेपाली शब्दकोशलगायतका सरकारी प्रमाणपत्र तथा सरकारी दस्तावेज, पुस्तकमा उल्लेख गर्नुका साथै अझै सरकारी कामकाजमा उक्त शब्द चलनचल्तीमा रहेकोप्रति गोलमेच संवादमार्फत दुःख व्यक्त गरिएको छ। यसअघि जारी भएका सबै नागरिकता, अन्य प्रमाणपत्र, दस्तावेज, रेकर्ड तथा पुस्तकमा उल्लेख भएका ‘सतार’ शब्द तत्काल सच्याएर सन्थाल उल्लेख गर्ने  व्यवस्था मिलाउन तथा अब जारी हुने प्रमाण कागजमा समेत सन्थाल लेख्न लेखाउन तीनै तहका सरकारसमक्ष उनीहरूले माग गरेका छन्।  

उक्त विषयमा झापाका राजनीतिक दललाई समेत ध्यानाकर्षण गराइसकेको समुदायका अगुवा सुन्दर बे्रसाले बताउनुभयो। सन्थालहरूका लागि जारी हुने नागरिकतालगायत सबै खाले प्रमाणपत्र तथा दस्तावेज, रेकर्डमा नामको पछाडि जातिका वास्तविक थर बेस्रा, मुर्मु, मार्डी, सोरेन, हास्दा, बास्के, हेमरम, चोडे, पौरिया, किस्कु, टुडु र बेदिया उल्लेख गर्न तथा समुदाय बुझाउने नाम सन्थाल प्रयोग गर्न गराउनसमेत गोलमेच संवादमार्फत माग गरिएको छ। त्यसैगरी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा लोपोन्मुख तथा आदिवासी सन्थाल जातिको संवैधानिक र राजनीतिक अधिकारप्रति सम्मान गर्दै गर्दै अर्थपूर्ण तथा सार्थक सहभागिता सुनिश्चित गर्न सरकार र राजनीतिक दलसँग गोलमेच संवादमार्फत माग गरिएको छ। सन्थाल समुदायको सबैभन्दा ठूलो पर्व सोहराय पूजामा सार्वजनिक बिदाको व्यवस्था गर्न पनि उनीहरूले तीनै तहका सरकारसँग माग गरेका छन्। अन्य समुदायको पर्वमा बिदा दिएझैँ सन्थालको पहिचान र सम्मानका लागि सोहराय पूजामा बिदा दिन उनीहरूको माग छ। सरकारले पर्व बिदामा समेत सन्थाललाई उपेक्षा गरेको गुनासो उनीहरूले गरे। सोहराय पूजा माघ पूर्णिमामा पर्दछ। 

संवाद समूह झापाको संयोजनमा भएको गोलमेच संवादमा आफ्ना माग पूरा गर्न सामूहिक रूपमा पहल गर्ने पनि उनीहरूबीच सहमति भएको छ। नेपाल सन्थाल आदिवासी उत्थान सङ्घका केन्द्रीय अध्यक्ष सुन्दर बेस्रा, रिलोमाला सन्थाली अखडाका केन्द्रीय अध्यक्ष रिमिल श्यामसुन्दर बेस्रा, जिल्ला समन्वय समिति झापाका सदस्य सन्तोष सोरेन, कनकाई नगरपालिकाका कार्यपालिका सदस्य भगन टुडुलगायतले सहमतिमा हस्ताक्षर गर्नुभएको छ। सन्थालको जनसङ्ख्या ५१ हजारभन्दा बढी रहेको छ। लामो छलफल प्रक्रियापछि नेपाल तथा भारतका सन्थाल विज्ञको सुझावअनुसार सन्थाल समुदाय उक्त टुङ्गोमा पुगेको जनाइएको छ।