• १३ साउन २०८१, आइतबार

कपिलवस्तु कारागारबाट ६ जना कैदी रिहा

blog

करागार कार्यालय कपिलबस्तु । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा, असोज ३ गते । संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदी सोमबार रिहा भएका छन् । कैद मिनाहा भएका सबै कैदी कपिलवस्तुका रहेका छन् । 

राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम आज कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीले बताउनुभयो । कैदमुक्त भएका ६ जनामध्ये २ जना कर्तव्य ज्यान, सवारी ज्यान,  किर्ते नागरिकता, डाँका र अङ्गभङ्ग मुद्दाका एक–एक जना कैद जीवन बिताउँदै आउनुभएको थियो ।   

मुद्दा नकारात्मक सूचीमा नपरेको, असल चालचलन भएको र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उहाँहरूको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उहाँहरूको कैद मिनाहा गरिएको जेलर शैनीले बताउनुभयो ।

कैदमुक्त भएका उहाँहरू बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका जेलर शैनीले जानकारी दिनुभयो । कपिलवस्तु कारागारमा रहेका कुल ४ सय ४७ कैदी बन्दीमध्ये आज ६ जना कैदमुक्त हुनुभयो । बाँकी ४ सय ४१ जना कैदीबन्दी कारागारमा छन् ।