• १३ साउन २०८१, आइतबार

रुकुमपूर्वमा नौ मतदान स्थान थप

blog

रुकुमपूर्व, असोज २ गते । रुकुमपूर्वमा ९ मतदान स्थान थप भएको छ । जिल्ला मतदान स्थान सिफारिस समितिको निर्वाचन आयोगमा गरेको सिफारिस बमोजिम जिल्लामा ९ मतदान स्थल थप भएर आएको हो  । 

जस अनुसार नयाँ थप भएर आएका मतदान स्थान पुथाउत्तरगङ्गा गाउँपालिका–२ आधारभूत विद्यालय हार्दिबाङ, पुथाउत्तरगङ्गा–५ जनता आधारभूत विद्यालय काजरजङ, पुथाउत्तरगङ्गा–७ जनज्योति माध्यमिक विद्यालय जाङ, पुथाउत्तरगङ्गा–११ जनजागृति आधारभूत विद्यालय दमचन, भूमे गाउँपालिका–६ बालविकास आधारभूत विद्यालय नाखे, भूमे–७ छेल्लोफाल्ने आधारभूत विद्यालय गुनाम, भूमे–८ माध्यमिक विद्यालय कुचिबाङ, भूमे–९ आधारभूत विद्यालय सिमचौर र सिस्ने गाउँपालिका–७ आधारभूत विद्यालय नाथिगाड गरी नयाँ ९ मतदान स्थल थप भएर आएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । 

अब जिल्लामा मतदान स्थलको सङ्ख्या ३५ बाट बढेर ४४ र मतदान केन्द्र ४९ बाट बढेर ५६ वटा पुगेको जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो । त्यस्तै २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्ने मतदाताको सङ्ख्या ३३ हजार ५ सय १८ बाट बढेर मङ्सिर ३ गते सम्म १८ वर्ष पूरा भई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मङ्सिर ४ गते मताधिकार प्राप्त भएका मतदाताको सङ्ख्या ३४ हजार १ सय १२ पुगेको ओलीले बताउनुभयो ।  

नयाँ थप भएका मतदानस्थलमा वडाबाट सिफारिस भई आएका मतदाताले मात्र मतदान गर्न पाउने भएकाले आफ्नो मतदानस्थल कुन हो मतदाता नामावली हेरेर मात्र मतदान गर्न जानका लागि पनि जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ । 

Author

जयमान बुढा मगर