• १३ साउन २०८१, आइतबार

सामुदायिक शिक्षामा कमजोर कर्णाली

blog

रजनी योगी

सुर्खेत, असोज २ गते । कर्णाली प्रदेशका सात जिल्लाका ३४७ सामुदायिक विद्यालयमध्ये कुनैको पनि शैक्षिक गुणस्तर अब्बल छैन। कर्णालीका माध्यमिक विद्यालयको शैक्षिक अवस्थाबारे गरिएको एक अध्ययनले यस्तो निष्कर्ष प्रस्तुत गरेको हो। कर्णालीमा १२ वटा माध्यमिक विद्यालय मात्रै मध्यमस्तरका देखिएका छन्। शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञ टोलीले गरेको स्थलगत अध्ययनले यस्तो निष्कर्ष दिएको हो।

झन्डै छ वर्ष लगाएर स्थलगत अध्ययन गरेका विज्ञ टोलीले सातवटै प्रदेशका करिब चार हजार आठ सय सामुदायिक माध्यमिक विद्यालयको अनुगमन तथा परीक्षण गरेको थियो। त्यस अध्ययनको प्रतिवेदनमा कर्णालीमा कुनै पनि अब्बल विद्यालय नभेटिएको उल्लेख छ। अध्ययनले यहाँका अधिकांश माध्यमिक विद्यालय सामान्य अवस्थामा सञ्चालनमा रहेको देखाएको छ। कर्णालीमा ३३० वटा माध्यमिक विद्यालयको शैक्षिक अवस्था सामान्य छ भने चारवटा माध्यमिक विद्यालय कमजोर अवस्थामा रहेका छन्। एक सय पूर्णाङ्कमा ४० प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई कमजोर, ४० देखि ७० सम्म ल्याउनेलाई सामान्य, ७० देखि ९० ल्याउनेलाई मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क ल्याउने विद्यालयलाई उत्तम वर्गीकरण गरिएको छ।

अधिकांश विद्यालयको शैक्षिक र भौतिक पक्ष सबल नहुँदा विद्यालयको नतिजा कमजोर देखिएको प्रतिवेदनमा औँल्याइएको छ। विद्यालय व्यवस्थापनको पक्षमा अभिभावक वा विद्यार्थीभन्दा शिक्षक कर्मचारी जिम्मेवार हुनुपर्ने सुझावसमेत दिइएको छ। नतिजा कमजोर भएका विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक र खेल सामग्री, कम्प्युटर, पुस्तकालय, प्रयोगशालालगायत न्यूनतम सेवासुविधा सुनिश्चित गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कर्णालीमा १२ वटा मध्यमस्तरका विद्यालयमध्ये हुम्लाको छिप्रास्थित सीता माध्यमिक विद्यालयले ८० दशमलव सात अङ्क प्राप्त गरी पहिलो स्थानमा छ। दोस्रोमा रुकुमपश्चिमको प्रभात उच्च माविले ७९ दशमलव ५८ अङ्क प्राप्त गरेको छ भने सुर्खेतको बड्डिचौरस्थित जनज्योति माविले ७७ दशमलव ५८ अङ्क ल्याएर तेस्रो स्थानमा देखिन्छ। 

देशभर छ हजार ८८५ वटा सामुदायिक मावि सञ्चालनमा छन्। तीमध्ये प्रत्येक प्रदेशलाई समेटेर ६० जिल्लाका चार हजार ८४५ अर्थात् ७० प्रतिशत विद्यालयका शैक्षिक, भौतिक पूर्वाधारलगायत विविध पक्षमाथि कार्यसम्पादन परीक्षण गरिएको जनाइएको छ।