• १३ साउन २०८१, आइतबार

विद्यालय नमुना, कक्षाकोठामा कोचाकोच

blog

जाजरकोट समाचारदाता

जाजरकोट, असोज २ गते । जिल्ला सदरमुकामस्थित नमुना त्रिभुवन माध्यमिक विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म विद्यार्थी राखेर पढाइने गरिएको छ। सदरमुकामकै नमुना भनिएको विद्यालयको यो हालत छ भने ग्रामीण जिल्लाका विद्यालयको अवस्था कस्तो होला ? 

कक्षा ७ कक्षामा अध्ययनरत छात्रा बिनु विकले भन्नुभयो, “एउटै बेन्चमा धेरै विद्यार्थी कोचिएर बस्नुपर्दा हैरान छौँ। बेन्च थोरै र कक्षाकोठा साँघुरो हुँदा पठनपाठन समेत प्रभावित भएको छ।”

कक्षा ७ की छात्रा करुण मल्लले भन्नुभयो, “हाम्रो कुरा सुनिँदैन। हामीलाई कक्षाकोठामा बस्न निकै अप्ठेरो छ।”नमुना विद्यालयका सबै कक्षाका उही समस्या छन्। बस्नका लागि बेञ्च छैन। एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाइँदा हल्लाको समस्या पनि छ।विद्यालयका शिक्षक रेखा शाहले भन्नुभयो, “धेरै विद्यार्थी भएकाले पठनपाठनमा समस्या देखिएको छ। धेरै विद्यार्थी हुँदा कक्षा कार्य गर्न र गृहकार्य जाँच गर्नसमेत कठिनाइ छ।”

भेरी नगरपालिका शिक्षा विकास तथा खेलकुद शाखा प्रमुख अमृत पुनले पठनपाठन व्यवस्थापनका लागि हरेक वर्ष नमुना विद्यालयको कार्यक्रमअन्तर्गत ५० लाख बजेट विनियोजन गरिएको बताउनुभयो। 

आवश्यक शिक्षकको व्यवस्था गरेर सेक्सन बाँडेर नमुना विद्यालय निर्देशिका अनुसार पठनपाठनको व्यवस्था मिलाउने जिम्मा विद्यालयको नै भएको भन्दै शाखा प्रमुख पुन जिम्मेवारीबाट पन्छिन खोज्नुभयो। विद्यालयका सहायक प्रधानाध्यापक हरिबहादुर बस्नेत विद्यालयमा भर्ना हुन आएका विद्यार्थीलाई भर्ना गर्दा सङ्ख्या धेरै भएको र सोअनुसार व्यवस्थापन गर्न नसकिएको बताउनुभयो। यस विद्यालयमा नमुना विद्यालय कार्यक्रमअन्तर्गत हरेक 

वर्ष सङ्घीय सरकारबाट एक करोड रकमको कार्यक्रम सञ्चालनमा आइरहेको जनाइएको छ।