• १३ साउन २०८१, आइतबार

पहिरोले सधैँ सास्ती

blog

रेखीराम राना

पाल्पा, असोज २ गते  । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड सिद्धबाबा क्षेत्रमा यात्रुका लागि सधैँको समस्या बनेको छ। बेलहीयादेखि पोखरासम्म १८१ किलोमिटर सडक भए पनि पाल्पा–बुटवल खण्डको ४१ किलोमिटर सडकमा निर्बाध यात्रा गर्न समस्या बनेको छ। 

सडकमाथिबाट बारम्बार खस्ने पहिरोका कारण सडक अवरुद्ध बनेर यो सडक भएर यात्रा गर्ने यात्रुले सधैँ सास्ती पाएका छन्। पाल्पा–बुटवल खण्डको तिनाउ गाउँपालिका खण्डमा पर्ने सडकमा सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

सिद्धबाबा क्षेत्र, पौथेडाँडा, चर्चरे, हिउँदे खोला, झुम्सा क्षेत्रमा पानी पर्नेबित्तिकै पहिरो खस्ने समस्या छ। चुरे क्षेत्रमा बढेको जथाभावी दोहोन र भूवनोटका कारण तिनाउ क्षेत्रको बाटोमा बारम्बार पहिरो जाने गरेको पाल्पाका ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लको भनाइ छ। तिनाउ गाउँपालिकाभित्र पर्ने सडकमा मात्र यो वर्ष दर्जन बढी स्थानमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको मल्लले बताउनुभयो। 

पहिरो खस्ने क्षेत्र चुरे र महाभारतको सीमा पर्ने भएकाले पनि त्यस क्षेत्रको भूवनोट कमजोर रहेको बताइन्छ। यद्यपि सो क्षेत्रमा सबैभन्दा बढी जथाभावी चुनढुङ्गा, ढुङ्गा, गिट्टीको 

उत्खनन हुने गरेको छ। 

सिद्धार्थ राजमार्ग वरपरको भूभाग कोतरेर ढुङ्गा चोरी गर्नाले पनि पहिरोको जोखिम बढेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो। चुरे क्षेत्रको भूभाग कमजोर छ, त्यसैमाथि उत्खननका काम पटक–पटक हुनाले पहिरोका घटना बढेका छन्, उहाँले भन्नुभयो। भूवनोट ख्याल नगरी सडक विस्तार तथा प्राकृतिक स्रोतको उत्खननले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड पहिरोको जोखिममा परेको उहाँको दाबी छ।

सडक डिभिजन कार्यालय पाल्पाले सडक सुधार तथा पहिरो रोक्नका लागि हरेक वर्ष करोडौँ रुपियाँ खर्च गरेको छ। सडकको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन गुडाउनाले सडक क्षतविक्षत बनेको छ। 

त्यसमाथि सडकमा पहिरो खस्ने र सडक भासिने गर्नाले मर्मत तथा निर्माण गरेका सडक दुई÷तीन महिना पनि टिक्न नसकेको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त प्रमुख निरन्जन शर्माले बताउनुभयो। ‘सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड सुधार तथा मर्मतका लागि हरेक वर्ष काम हुने गरेको छ उहाँले भन्नुभयो, पहिरोका कारण र सडकमा बढी भारका सवारी गुडाउँदा सडक बिग्रने गरेको छ।’

सिद्धार्थ राजमार्गसँग जोडेर जथाभावी सडक विस्तारको कामले पनि राजमार्ग भत्कने गरेको सडकका प्राविधिकको भनाइ छ। स्थानीय तहले सिद्धार्थ राजमार्गसँग जोडेर जथाभावी सहायक मार्ग खोलेको अवस्था छ। सहायक मार्गबाट खसेका पहिरोले समेत सिद्धार्थ राजमार्गमा पहिरो खस्ने गरेको निमित्त प्रमुख शर्माले बताउनुभयो।