काठमाडौं, असोज १ गते । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरुको भएको बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गनुहुँदै सभामुख सापकोटाले सांसदहरुको जिम्मेवारी गुणस्तरीय कानुन निर्माण गर्नुभएको बताउनुभयो ।
सांसदहरुले निर्माण गरेका कानुनको सर्वोच्च अदालतले ठिकसँग कार्यान्वयन गरे÷नगरेको सम्बन्धमा निगरानी गर्ने दायित्व पनि सांसदहरुकै भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘सांसदको जिम्मेवारी भनेको कानुन निर्माणको हो । गुणस्तरीय कानुन निर्माणको हो । त्यसका साथसाथै हामीले निर्माण गरेका गुणस्तरीय कानुनहरुको ठिक ढङ्गले कार्यान्वयन भएको छ कि छैन, सर्वोच्च अदालतले पनि ठिक ढङ्गले त्यसलाई ग्रहण गरेर, ठिक ढङ्गले कार्यान्वयन गरेको छ कि छैन ? निगरानी गर्ने दायित्व पनि हाम्रै नै हो ।’’
सभामुख सापकोटाले समृद्ध नेपाल बनाउनका लागि विकास निर्माणको कामको महत्त्वपूर्ण भूमिका हुने पनि उल्लेख गर्नुभयो । सापकोटाले नीति निर्माण सँगसँगै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
‘‘यो समितिको कामलाई मैले विशिष्ट भन्नुको अर्थ छ, जस्तो राष्ट्रिय गौरवको आयोजनाहरु, अहिले हामी समृद्ध नेपालको महान कार्यमा अगाडि बढिरहेका छौँ । त्यो कार्यको कुरा गर्दा विकास निर्माण नै हो । राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि तपाईहरुले अध्ययन गर्नुभएको छ । नीति निर्माण हामीले गर्छौं । योजना निर्माण पनि महत्त्वपूर्ण कुरा हो । तर त्योभन्दा कैयौँ गुणा बढी महत्त्वपूर्ण कुरा कार्यान्वयनको हो ।’’ उहाँले भन्नुभयो ।
सभामुख सापकोटाले सार्वजनिक खरिद ऐनमा छिद्र खोजेर कन्ट्रयाक्टरहरुले राम्रोसँग विकास निर्माणको काम नगरेको अवस्थामा काम गराउनका लागि विकास तथा प्रविधि समितिले भूमिका खेलेको भन्दै समितिको कामको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘हाम्रो चुनौती कार्यान्वयनको हो । त्यो चुनौतीलाई तपाईहरुले स्वीकार गरेर तपाईहरुको क्षेत्रबाट, समितिबाट जति गर्न सक्नुपर्थ्याे त्यति गर्नुभएको छ । विकास निर्माणको कुरा गर्दाखेरी सार्वजनिक खरिद ऐनको गुणात्मकता नहुँदाखेरी, वैज्ञानिकता नहुँदाखेरी धेरै ठूला असरहरु परेका छन् । छिद्र खोजेर कन्ट्रयाक्टरहरुले राम्रोसँग काम नगरेको बेलामा यस सम्बन्धमा पनि तपाईंहरुले राम्रोसँग काम गर्नुभएको छ भन्ने मलाई लाग्छ ।’’