काठमाडौँ, वैशाख ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवम् सांसद डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिनुभएको हो ।
उहाँले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दुःख दिन थालेको बताउनुभयो । नागढुङ्गादेखि मुग्लिङसम्मको सडकको पुनर्निर्माण कछुवाको तालमा भइरहेको जानकारी उहाँले दिनुभयो ।
उहाँले यस पटकको वर्षायाममा नागरिकले धेरै दुःख र कष्ट भोग्नुपर्ने मात्रै होइन सानादेखि ठुलासम्म दुर्घटना हुने धेरै सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
‘‘वर्षायाम लाग्न बाँकी नै छ । बाढीले नागरिकलाई दुःख दिन थालिसकेको छ । नवलपरासीमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्धदेखि विपी राजमार्ग बाढीले अवरुद्ध भएका खबरहरू आएका छन् ।,’’ कार्यवाहक सभापति अर्यालले भन्नुभयो, ‘‘नागढुङ्गादेखि मुग्लिङसम्मको सडकको पुनर्निर्माण कछुवाको तालमा भइरहेको छ । यस पटकको वर्षायाममा नागरिकले धेरै दुःख र कष्ट भोग्नुपर्ने मात्रै होइन सानादेखि ठुलासम्म दुर्घटना हुने धेरै सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ठेकेदार र सम्बन्धित कम्पनीसँग छलफल गरियोस् ।’’
कार्यवाहक सभापति अर्यालले तीन चरणमा काम गराएर भए पनि वर्षा अगावै जोखिम कम गराउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।