• १३ साउन २०८१, आइतबार

बालकलाई बाँधेर झोलुङ्गोमा

blog

गुल्मी समाचारदाता

गुल्मी, असोज १ गते । गुल्मीको सत्यवती गाउँपालिका–५, हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अभिभावकले हात–खुट्टा बाँधी झोलुङ्गोमा झुन्डाएर राख्ने गरेका छन्। 

घरको जेठो सन्तान रामुलाई पछ्यौरीले हात–खुट्टा बाँधेर झोलुङ्गोमा राखेका हुन्। विगत सात÷आठ वर्षदेखि मानसिक रोगबाट पीडित रामुलाई उपचार गर्न नसक्दा यसरी बाँधेर राख्नुपरेको अभिभावकले बताए। 

मानसिक समस्या पीडित रामुले टाउको भुइँमा ठोकेर रगताम्मे बनाउने, शरीरभर चोट पार्ने, चिथोर्ने र कोपर्ने भएकाले बाँधेर राख्नुपरेको आमा देउकुमारीले बताउनुभयो। 

सो रोग लागेपछि रामु धेरै उफ्रने र टाउको भुइँमा ठोक्ने भएकाले लौरो देखाएर तर्साई सम्हाल्न नसकिने अवस्था आएको उहाँका बुबा कमल बताउनुभयो। “लौरो देखाउने मात्र होइन कहिलेकाहीँ पिट्नु पनि पर्छ। बाध्यताले आफ्नै सन्तान पिट्दा मुटु छियाछिया बन्छ,” उहाँले भन्नुभयो। 

उहाँका अनुसार जमिनमा टाउको बढी ठोक्ने भएकाले झोलुङ्गो बनाएर माथि राखिएको हो। रामुका लागि घरमा एक जना बस्नुपर्ने बाध्यता छ।  उनलाई उपचारका लागि भारतसम्म नपुराएको होइन तर ‘बीसको उन्नाइस’ भएन, उहाँले थप्नुभयो, उपचारका लागि लाखौँ रुपियाँ लाग्ने भएपछि बाँधेर राख्न बाध्य भएका हौँ। 

बुढाथोकी परिवार आर्थिक हिसाबले निकै कमजोर छ। सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले मानसिक समस्याबाट पीडित बालकको पालिकाले स्वास्थ्य बीमा गरी उपचारका लागि काठमाडौँसम्मको भाडा र उपचार खर्च दिने आश्वासन दिनुभयो।