• १३ साउन २०८१, आइतबार

राजमार्गको अवस्थाप्रति पालिकाको चासो

blog

मीना कँडेल

कावासोती, असोज १ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले पूर्व–पश्चिम जोड्ने मुख्य राजमार्गको जीर्ण अवस्थाप्रति चासो लिएको छ। चाडपर्व सुरु भएसँगै मुख्य राजमार्गको अवस्था कमजोर देखिएपछि पालिकाले चासो लिएको हो। 

पुनर्निर्माण तथा विस्तारका क्रममा रहेको कावासोतीस्थित मुख्य राजमार्गमा ठूलठूला खाल्टाखुल्टीसँगै ढल, धुलो र हिलोको समस्या देखिएकाले समाधानका लागि समाधानको पहल भएको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो। 

सडक निर्माण कार्य समयमा नै सम्पन्न हुन नसक्दा जनतालाई निकै दुःख र सास्ती भएको गुनासो गर्दै उहाँले तत्काल बजार क्षेत्रमा नाला निर्माणसहित सडकको आवश्यक निर्माण काम पूरा गर्न आयोजनाका पदाधिकारीसमक्ष आग्रह गर्नुभएको छ। करिब ५० करोड रुपियाँको लागतमा नगरपालिकाभित्र विभिन्न पाँचवटा योजना निर्माणको पहल जारी छ। ढल व्यवस्थापन र बसपार्क निर्माणलगायतका योजना अघि बढ्ने भएको छ। सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत नगरपालिकाभित्र ती योजना अघि बढाउने तयारी गरिएको छ। ढल व्यवस्थापन, कावासोती–१६ मा बसपार्क निर्माण, कावासोती डण्डास्थित गैँडा चोकबाट गोछडाबजार सडक कालोपत्रे, पोखरीताल व्यवस्थापन र कावासोती–१५ मा पार्क निर्माणलगायतका योजना छन्।

पूर्व–पश्चिम राजमार्ग नजिकै रहेका पोखरी ताल र अमलटारी क्षेत्र पर्यटकीय सम्भावना बोकेका स्थल हुन्। ती क्षेत्रको थप व्यवस्थापनले पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै गैँडा चोकदेखि गोछडा बजारको बाटो निर्माणले सो क्षेत्रका बासिन्दालाई बजारसम्म आवतजावत गर्न थप सुविधा पुग्नेछ।