• ५ वैशाख २०८३, शनिबार

पोखरा–१३ मा साहित्य महोत्सव हुने

blog

फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख ५ गते ।
पर्यटन राजधानी पोखरामा बर्सेनि साहित्य महोत्सव हुँदै आएको भए पनि यसपटक पोखरा महानगरपालिका–१३ ले पनि साहित्य महोत्सव आयोजना गर्ने भएको छ। वडाले पठन संस्कृतिको प्रवर्द्धन र नेपाली वाङ्मयको विकासका लागि यही वैशाख १२ गते महोत्सव आयोजना गर्न लागेको हो।

‘साहित्य पर्व २०८२’ नाम दिइएको उक्त महोत्सव आशीर्वाद क्लब र अरण्यज्योति पुस्तकालयको समन्वयमा आयोजना गरिँदैछ। कार्यक्रममा साहित्यकार तथा पत्रकार नारायण वाग्ले मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ। उहाँले ‘मसीको सुगन्धदेखि एल्गोरिदमको गहिराइसम्म : साहित्यको एक शताब्दी यात्रा’ विषयमा प्रस्तुति दिने तय भएको छ।

वडाध्यक्ष किरण बरालले वडाको समग्र विकासमा भौतिक पूर्वाधारसँगै बौद्धिक र सांस्कृतिक चेतना पनि अपरिहार्य रहेको बताउनुभयो। “हामीले साहित्यमार्फत वडाको ऐतिहासिक र जातीय विविधतालाई जोड्न खोजेका छौँ। यसले नयाँ पुस्तालाई आफ्नो माटो र पहिचानसँग साक्षात्कार गराउनेछ,” उहाँले भन्नुभयो। पोखरा–१३ लोककवि अली मियाँको जन्मभूमि हो।

वडामा रहेका भद्रकाली मन्दिर, जामे मस्जिद अक्सा र कमलपोखरी जस्ता ऐतिहासिक स्थलहरूको प्रवर्द्धनसमेत महोत्सवमार्फत हुने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले यो पर्व सिर्जनात्मक प्रतिभा प्रस्फुटनका लागि प्रभावकारी मञ्च बन्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा छ सत्रहरू सञ्चालन हुनेछन्।

पहिलो सत्रमा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले ‘बितेका पाइला र आउने बाटो : पोखराका युगपुरुषहरूको पदचापमा’ विषयमा लोककवि अली मियाँ, साहित्यकार जगन्नाथ सिग्देल र टेकबहादुर ढेवाजुको योगदानबारे चर्चा गर्नुहुनेछ। समाजशास्त्री डा। कपिल अधिकारीले ‘अक्षरदेखि एल्गोरिदमसम्म : हाम्रो शिक्षा र बदलिँदो समाजको स्वरूप’ विषयमा अर्को सत्रमा प्रस्तुति दिने कार्यक्रम छ।

पोखराका उद्यमी नारायण पौडेल र समेजराज भण्डारीसँग प्रविधि र औद्योगिक यात्राका विषयमा संवाद हुनेछ। साहित्यमा नारी प्रतिनिधित्वका विषयमा सरस्वती प्रतीक्षासँग हसिना बस्नेतले छलफल गर्नुहुनेछ।

त्यस्तै, कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठसँग पोखराको सांगीतिक परिवेशबारे परिचर्चासहित उहाँका लोकप्रिय गीतहरू पनि प्रस्तुत गरिनेछन्। साहित्यिक पर्वमा स्थानीय साहित्यकार धर्मराज अल्पायु, नुमराज बराल, अमर धिताल, सरस्वती परियार र सरस्वती श्रेष्ठ ‘सरु’ले आफ्ना सिर्जना तथा प्रस्तुति दिने कार्यक्रम रहेको छ।