• १८ असार २०८१, मङ्गलबार

नेता ठेकेदारले नै पारे निर्माण योजना अलपत्र

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), भदौ ३१ गते । नेपाली समाजमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने लोकोक्ति प्रचलित छ। सदरमुकाम बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन कार्य यो लोकोक्तिसँग ठ्याक्कै मेल खान्छ। देशभरिका निर्माण व्यवसायीका छाता सङ्गठन निर्माण व्यवसायी महासङ्घका पदाधिकारी एवं ठूला नेताहरूले जिम्मा लिएको बेनी अस्पताल निर्माणाधीन भवन दुई वर्षदेखि अलपत्र छ।  निर्माणाधीन भवनको फलामे रडमा खिया लागेको छ। निर्माण सम्पन्न नहुँदै भवन जीर्ण र पुरानोजस्तो देखिन थालेको छ। छ वर्षअघि निर्माण सुरु गरिएको अस्पताल भवन दुई वर्षयता अलपत्रजस्तै छ।  भवन निर्माणलाई गति दिन सरकारी निकायबाट सात पटकसम्म पत्र काटिएको बताइएको छ। तर उक्त पत्रले निर्माण व्यवसायीको रौँ हल्लाएको छैन। भवन अलपत्र पार्ने ठेकेदारको फोटो टाँसेर स्थानीय युवाले गत हप्ता विरोध पनि गरे। 

अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नतिका लागि भवन निर्माण थालिएको थियो। तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग २०७३ साल पुस २१ गते महादेव खिम्ती, गल्वा र रफिना जेभीले १८ करोड ८४ लाख आठ हजार ८९ रुपियाँमा ठेक्का सम्झौता गरेको हो। सो सम्झौताअनुसार २०७६ साल मङ्सिर २० गतेभित्र निर्माणकार्य सम्पन्न गर्ने उल्लेख छ। तर तीन वर्ष बित्यो, काम पनि रोकियो। योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ। 

रफिना जेभीका तर्फबाट सञ्चालक रविन जोशीले जिम्मा लिएको यो योजना ढिलासुस्तीको ज्वलन्त नमुना बनेको छ। महादेव खिम्तीका सञ्चालक रवि सिंह निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष, गल्वा कन्स्ट्रक्सनका सञ्चालक नरहरि थपलिया र रफिना कन्स्ट्रक्सनका सञ्चालक रविन जोशी निर्माण व्यवसायीका नेता हुनुहुन्छ। 

‘हाई प्रोफाइल’का यी तीन जना निर्माण व्यवसायीले लिएको ठेक्का नै अलपत्र परेपछि स्थानीय नेताहरू पनि गुपचुप छन्। सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पटक–पटक आवाज उठाए पनि कुनै सुनुवाइ हुन सकेको छैन।  “हाम्रो काम म्याद थप्ने र पत्र लेख्नेमात्र भएको छ,” भवन निर्माण डिभिजन कार्यालयका एक कर्मचारीले भन्नुभयो, “म्याद थपका लागि आवश्यक प्रक्रिया अघि नबढाउने हो भने माथिदेखि नेताको फोन आइहाल्छ।” 

ठूला पार्टीका केन्द्रीय नेताहरूसँग उहाँहरूको बलियो पहुँच र सम्बन्ध भएकाले अटेरी गरेको उहाँको बुझाइ छ। राजनीतिक पहुँच राख्न सक्ने निर्माण व्यवसायीका कारण अलपत्र परेको अस्पताल भवनले पूर्णता पाउने निश्चित छैन।  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले निर्माण सम्पन्न गर्नुपर्ने अस्पतालको भवन निर्माणकार्य योजना अन्योलमा परेको बताउनुहुन्छ। भवन नहुँदा नियमित उपचार सेवाका अतिरिक्त शल्यक्रियासहितको सेवामा समस्या भएको छ।  सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पतालको करिब ६० प्रतिशत काम सकिएको जनाएको छ।  निर्माणकार्यमा ढिलासुस्ती गरिरहेका ती निर्माण कम्पनीहरूलाई पुनः म्याद थप गरिएको छ। सो आयोजना कार्यालयका प्रमुख सुनीता श्रेष्ठले भन्नुभयो, “चिठी लेख्दालेख्दै दिक्क लागिसक्यो।’’