• ६ वैशाख २०८१, बिहिबार

राष्ट्रिय राजमार्गसँग जोड्ने सडक बन्द

blog

म्याग्दी समाचारदाता

म्याग्दी, भदौ ३१ गते । हिमालपारिको जिल्ला मुस्ताङलाई म्याग्दी हुँदै राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले सडकको विभिन्न स्थानमा पहिरो तथा बाढी जाँदा अवरुद्ध भएको हो। 

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मार्ग बेनी–जोमसोम सडक एकमात्रै सडक खण्ड हो। सो सडकको सात ठाउँमा खोला र पहिरोले अवरुद्ध गराएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनुभयो।

उहाँका अनुसार बेनी–जोमसोम सडकअन्तर्गतको बेनी–गलेश्वर सडकअन्तर्गत बेनी नगरपालिका–७, जलेश्वरमा भलले सडक कटान गर्दा यातायात सेवा अवरुद्ध भएको छ। 

रघुगङ्गा गाउँपालिका–३ गलेश्वर क्षेत्रमा लेदोले सडक अवरुद्ध छ। बैसरीमा पहिरो गएको छ। बेगखोलामा बाढीको बहाव उच्च रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–३, दानाको गुइठे तथा काभ्रेमा पनि पहिरोका कारण सडक अवरुद्ध छ। सडक खुलाउन भुरुङ तातोपानी पुग्नुभएका जिल्ला प्रहरी प्रमुख भारतीले सडकमाथिबाट लगातार ढुङ्गा खसिरहेकाले खुलाउन नसकिएको बताउनुभयो। लगातारको वर्षा त्यसमाथि सडक माथिबाट ढुङ्गा खस्ने गरेकाले अवरुद्ध सडक खुलाउन समस्या भएको उहाँले स्पष्ट पार्नुभयो। 

बेनी–दरबाङ–जलजला हुँदै रुकुम जोड्ने सडकखण्डको पनि बेनी नगरपालिका–४ तातोपानी र मङ्गला गाउँपालिका–२, सिमलचौरको सिमाना घुमाउनेभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। 

त्यस्तै मालिका गाउँपालिका–६, बाङ्गे पहिरोमा पनि पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। महŒवपूर्ण सडक सञ्जाल कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नति क्रममा छ। बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ। पटक–पटक सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावत गर्न निकै समस्या भएको छ।

हिन्दु धर्मअनुसार सोह्रश्राद्ध लागेसँगै हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा पितृलाई तर्पण दिन जानैपर्ने धार्मिक मान्यता छ। तर, सडक अवरुद्ध हुँदा तीर्थालुले निकै सास्ती खेप्नुपरेको छ। मुस्ताङका स्याउ र आलु बजार पठाउने समय पनि यही भएकाले कृषकलाई समेत निकै कठिन भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ।

कालीगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काभ्रेभीर, बैसरी र नैनीबगरमा निरन्तर पहिरो खसेकाले मर्मतमा समस्या भएको बताउनुभयो। बैसरीमा बुधबार साँझ पहिरो पन्छाएर खोलिएको सडक पुनः अवरुद्ध भएको छ।