• १३ साउन २०८१, आइतबार

राप्ती लोकमार्ग मर्मत गर्न निर्देशन

blog

सल्यान समाचारदाता

सल्यान, भदौ ३० गते । जिल्ला प्रशासन कार्यालय सल्यानले राप्ती लोकमार्ग र त्यसका सहायक सडकको मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। 

जिल्लाका सडकको निर्माण, मर्मत पुनर्निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा जिल्लामा अवरुद्ध विभिन्न सडक र सहायक सडकको मर्मत तत्काल सुरु गर्न प्रजिअ विपिन आचार्यले निर्देशन दिनुभएको हो। 

राप्ती लोकमार्ग, खलङ्गा, बाबियाचौर, बालुवा सङ्ग्रहीलगायत सहायक सडकमा रोकिएका काम असोज १ गतेदेखि नै सुरु गर्न सडक डिभिजन कार्यालय दाङ, पूर्वाधार विकास कार्यालय सल्यान र निर्माण व्यवसायीलाई निर्देशन गरिएको छ। चाडपर्व नजिकिँदै गएकाले सडकको निर्माण, मर्मत तथा स्तरोन्नति काम छिटो र गुणस्तरीय गरी यातायात सञ्चालन सहज बनाउन निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो। 

सल्यानका अधिकांश सडकको काम अलपत्र अवस्थामा रहेकाले निर्माण व्यवसायीले जिम्मेवारपूर्ण भएर काम गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले निर्माण व्यवसायीहरूले ठेक्का सम्झौता गरे पनि काम नगरेको पाइएकाले रोकिएका काम छिटो सञ्चालन गर्न आग्रह गर्नुभयो। 

सडक सुधारका योजना परे पनि जिम्मेवारी लिएकाहरूले लापरबाही गर्दा सर्वसाधारणले दुःख पाएको उहाँको भनाइ छ। प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेतले राप्ती लोकमार्गको मर्मत सुधार र स्तरोन्नतिका लागि छुट्याइएको बजेट कार्यान्वयनमा नआउँदा काममा ढिलासुस्ती भएको र जनताले सास्ती पाएकाले सडक डिभिजन कार्यालयलाई छिटोछरितो काम गर्न निर्देशन दिनुभयो।

निर्माण व्यवसायीहरूले निर्माण सामग्री महँगो भएको र बर्सातका कारण काम गर्न नसकेको बताएका छन्। सडक मर्मतका लागि मात्र राप्ती लोकमार्गमा बर्सेनि ५० करोड रुपियाँ खर्च भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। यस वर्ष पनि मर्मतका लागि ४० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। तर, बजेट खर्च भइरहे पनि लोकमार्ग जीर्ण बन्दै जाँदा यात्रुलाई सास्ती भएको जनाइएको छ। दुर्घटनाको जोखिम झनै बढेको छ। तर, डिभिजन कार्यालयले भने सडक सुधारको काम भइरहेको दाबी गरेको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले ठेकेदारले काममा ढिलाइ गर्दा सडकको मर्मत सम्भार हुन नसकेको आरोप लगाउँदै कार्यालयले ताकेता र कारबाहीको प्रक्रिया अगाडि बढाउँदा पनि ठेकेदारले काम नगरेको आरोप लगाउनुभयो।

उहाँका अनुसार तत्काल दशैँअगाडि सडकका खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाउने काम गर्ने तथा अन्य ठेक्का प्रक्रिया लागिसकेका ठाउँको पनि मौसम खुलेपछि तत्काल काम सुरु गरिने भएको छ।