• १३ साउन २०८१, आइतबार

बालबालिकासँग मुख्यमन्त्री

blog

सुर्खेत समाचारदाता

सुर्खेत, भदौ २९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बालबालिकाले विभिन्न प्रश्न सोधेर आफ्ना जिज्ञासा मेटाएका छन्। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा २० जना बालबालिकाले मुख्यमन्त्री शाहीलाई विभिन्न प्रश्न गरेका छन्। 

मुख्यमन्त्रीसँग बालबालिकाले बालविवाहपीडितको अवस्था, छात्रवृत्ति, निःशुल्क पढाइ, प्रदेशको समृद्धिको खाकालगायतका बारेमा प्रश्नहरू सोधेका थिए।

जन माविका कक्षा १२ मा अध्ययनरत छात्रा आशिका खत्रीले बालविवाह न्यूनीकरणको कानुन किन प्रभावकारी बन्न सकेको छैन भनी प्रश्न गर्नुभयो। छात्र खगेन्द्र विकले सरकारी विद्यालयमा कक्षा १२ सम्म निःशुल्क भनिए पनि किन विद्यार्थीबाट रकम असुलिन्छ भनी जिज्ञासा राख्नुभयो।

यस्तै सोही विद्यालयमा कक्षा–६ मा अध्ययनरत छात्र हिमांशु गुरुङले कर्णाली प्रदेशलाई समृद्ध बनाउने के सपना देख्नुभएको छ भनी मुख्यमन्त्री शाहीलाई प्रश्न गर्नुभयो। 

बालबालिकाको प्रश्नको जवाफ फर्काउँदै मुख्यमन्त्री शाहीले बालविवाह कानुनले समेत अपराध मानिसकेकाले प्रभावकारी कानुनको पालना गरे रोकिने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले अहिले सरकारी विद्यालयको पढाइ पनि निकै राम्रो भएको र विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा शुल्क लिन नपाइने भए पनि दान चन्दा लिएर पढाउनुपर्ने अवस्था आइलागेको जनाउनुभयो।

उहाँले आफू प्रदेशको मुख्यमन्त्री भएपछि बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापनलाई आधार मानेर काम गर्न सुरु गरेको बताउँदै यसकै आधारमा समृद्ध प्रदेश बनाउने सपना देखिएको उल्लेख गर्नुभयो।

विगतदेखि नै सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई मात्रै छात्रवृत्ति दिइने गरिएको जनाउँदै सबै राजनीतिक दलले विद्यालय शान्ति क्षेत्र भएकाले बन्दलाई सधैँ बन्द गर्ने सहमति जनाएकाले अब कम हुने उहाँले बताउनुभयो। 

यस्तै राउटे बालक सुवीन शाहीले फोनबाट मुख्यमन्त्री शाहीसँग आफूहरूले पढ्न किन नपाएको होला ? भनी प्रश्न गर्नुभएको थियो। जवाफमा मुख्यमन्त्री शाहीले राउटे समुदायले चाहेमा विद्यालय खोलेर बालबालिकालाई शिक्षाको मूलप्रवाहमा ल्याउन सकिने बताउनुभयो। उहाँले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरू सत्मार्गमा लाग्न सुझाव दिनुभयो।