• १३ साउन २०८१, आइतबार

अझै तिरस्कृत छन् कुष्ठरोगी

blog

राजन रावत 

हुम्ला, भदौ २९ गते । उपचार गरेपछि निको भएका कुष्ठरोगका बिरामीले अझै पनि समाजमा अपहेलनाको जिन्दगी बिताउन बाध्य भइरहेको पाइएको छ। सामाजिक अचेतना र अन्धविश्वासले कुष्ठरोगीहरू यस्तो तिरस्कारपूर्ण जीवन बिताउन बाध्य भएका हुन्।  हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजार ७६२ रहेको छ। त्यसमध्ये कुष्ठरोगीको सङ्ख्या कुल जनसङ्ख्याको शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ। 

सिमकोट गाउँपालिका–८, खोल्सी गाउँका २४ वर्षीया छक्क सुनार कुष्ठरोग लागेकै कारण चार वर्षदेखि गोठमा एक्लै बस्न बाध्य हुनुहुन्छ। उहाँलाई २० वर्षको उमेरमा कुष्ठरोग लागेको थियो। त्यसयता छिमेकी त परै जाओस् आफ्नै परिवारका सदस्यले समेत तिरस्कार गर्न सुरु गरेको गुनासो उहाँले सुनाउनुभयो। परिवारका सदस्यकै सल्लाहमा उहाँ गोठमा बस्दै आउनुभएको हो।

दैनिक रूपमा बिहान बेलुकाको खाना परिवारका सदस्यले दिने गर्छन्। अन्य कसैसँग आफ्नो बोलचालसमेत नहुने उहाँले गुनासो गर्नुभयो। हातखुट्टा र शरीरभरि सरेको रोग देखाउँदै भन्नुभयो, “कस्तो रोग लागेको रहेछ कसैसँग बोल्न र बस्न नपाइने, गाउँका मान्छेको मुखै देख्न नपाउने ?”

एक ठाउँबाट अर्को ठाउँमा मुस्किलले सरेर जानसक्ने अवस्थामा रहेका सुनारलाई अब बाँच्छु भन्ने आशासमेत मरिसकेको छ। रोग लागेकै वर्ष उहाँले विवाह गरेको बताउनुभयो। एउटा सन्तान पनि जन्मेको छ उहाँबाट।  तर, पछि रोग लागेको जानकारी पाएपछि श्रीमतीले समेत छोडेर गइन्। बेसहारा अवस्थामा उहाँको जिन्दगी बितिरहेको छ। सुनारकी आमा, बहिनी, ठूलो बुवालाईसमेत उक्त रोग लागेको थियो। हाल तीनै जनाको मृत्यु भइसकेको उहाँले उल्लेख गर्नुभयो। 

कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रामराज शाहीले कुष्ठरोगलाई सर्ने र ‘महारोग’ भन्ने चलन हुम्लामा रहेको बताउनुभयो। उहाँका अनुसार यस्ता रोगीको उपचारमा सहयोग गर्न कसैले पनि साहस गर्न सक्दैनन्। जिल्लाभरि नै कुुष्ठरोगका बिरामीप्रति पानी बाराबार गर्ने चलन छ। उपचार गर्दा निको हुने कुष्ठरोगप्रतिको नकारात्मक बुझाइका कारण धेरैले अकालमै मृत्युवरण गर्ने गरेका छन्। 

सुनार लामो समयदेखि कुष्ठरोगबाट ग्रसित भएको र गोठमा एक्लै बस्दै आएको खबर फैलिए पछि सिमकोट गाउँपालिकाले उपचारका लागि जिल्ला अस्पतालसम्म पु¥याएको छ। उहाँलाई लिन गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया आफैँ गाउँसम्म जानुभएको थियो। हाल सुनारको प्राथमिक उपचार सुरु भएको छ। उपचारमा संलग्न चिकित्सक कैलाश लामाले बिरामीको अवस्था जटिल भइसकेको बताउनुभयो। 

जिल्ला अस्पतालमा बिरामीको उपचार हुन नसक्ने बताउँदै चिकित्सक लामाले तुरुन्तै थप उपचार नहुने हो भने हात खुट्टा खस्न सक्ने बताउनुभयो। बिरामी सुनारको आर्थिक अवस्था दयनीय छ। चिकित्सक लामाले भन्नुभयो, “रोग जटिल अवस्थामा पुगेको हुनाले कुष्ठरोगसम्बन्धी सुधारगृहमा लगेर उपचार गर्नुपर्छ।” 

पाँच वर्षअघि सोही गाउँकी बेला शाहीलाई पनि यस्तै रोग लागेको थियो। उहाँलाई त झनै जङ्गलको ओढारमा राखिएको थियो। त्यतैबाट उहाँको उद्धार गरेर जिल्ला अस्पताल ल्याउनुपरेको तितो अनुभव जीवन्त छ। हाल उहाँको कुष्ठरोगसम्बन्धी सुधारगृहमा उपचार भइरहेको बताइएको छ।