• १३ साउन २०८१, आइतबार

‘बाघबाट बच्न नसिकाउँदा मासियो अर्ना’

blog

वसन्त पराजुली

सौराहा, भदौ २९ गते । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन ल्याइएका अर्ना मर्नुमा चितवन राष्ट्रिय निकुञ्जको व्यवस्थापकीय कमजोरीसँगै बाघसँग जुधेर लड्ने, बच्ने कला नजान्नु प्रमुख कारण भएको औँल्याइएको छ । सात वर्षको अन्तरालमा स्थानान्तरण गरी ल्याइएका र यहाँ जन्मेका गरी २१ वटा अर्ना मरेपछि अहिले यसको कमजोरीका बारेमा स्वयं निकुञ्ज प्रशासनले समेत समीक्षा सुरु गरेको छ । 

इकोलोजिस्ट (पारिस्थितिकी विज्ञ), निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चितवनका अर्ना मरेसँगै यसको विस्तार गर्ने सरकारको योजना असफल भएको र यसमा अर्नालाई उसको शत्रु जनावर बाघसँग जुधेर लड्ने, बच्ने उपाय सिकाउन नसक्नु समस्या भएको बताउनुभयो । “अर्नाले आफ्ना शत्रुसँग लड्ने, बच्ने उपाय नै सिक्न पाएन,” प्रमुख संरक्षण अधिकृत आचार्यले भन्नुभयो, “ चितवनमा स्थानान्तरण गरी ल्याइएका अर्नालाई लामो समयसम्म ‘इन्क्लोजर’ (निश्चित क्षेत्र)मा राखिनु पनि गलत थियो । निश्चित समयपछि तिनलाई प्राकृतिक रूपमै छाडेर शत्रुसँग बच्न सक्ने सीपको विकास गराउनुपर्ने थियो, त्यो नहुनु नै गलत भयो ।”

कोसीमा बाघ, चितुवा जस्ता उसका शत्रु जनावर नभएको र त्यसलाई आफ्नो शत्रुका रूपमा चिन्नसमेत अर्नालाई समस्या भएको प्रमुख आचार्यको बुझाइ छ । “कमसेकम चितवन ल्याएपछि बाघ आफ्नो शत्रु हो भन्ने बुझेर आत्मरक्षाका लागि लड्ने हुनुपर्ने थियो । प्राकृतिक रूपमै नछाडिएपछि त्यो हुनै पाएन,” उहाँले भन्नुभयो । जङ्गलमा छाडिन पाएका भए जनावरले पनि कुन आफ्नो र कुन शत्रु भन्ने चिन्ने र त्यही आधारमा विस्तारै आफ्नो रक्षाका लागि जुक्ति वा सीप प्राकृतिक रूपमै जनावरमा विकास हुँदै जाने उहाँले जनाउनुभयो  । 

२०७१ साल कात्तिक २ गतेको सचिवस्तरीय बैठकको निर्णयअनुसार २०७३ माघमा कोसीबाट १२ वटा र काठमाडौँ चिडियाखानाबाट तीनवटा गरी १५ वटा अर्ना चितवन स्थानान्तरण गरिएको  हो । सरकारले पाँच भाले र १५ पोथी गरी २० वटा स्थानान्तरण गर्ने लक्ष्य राखेको भए पनि स्थानान्तरणकै क्रममा मर्न थालेपछि तत्काल अर्ना स्थानान्तरण रोकिएको बताइन्छ । स्थानान्तरण गरिएकाबाट छवटा बच्चा जन्मिएसँगै निकुञ्जमा २१ वटा अर्ना पुगेका भए पनि ‘इन्क्लोज’ गरी राखिएको पुरानो पदमपुरमै छवटालाई बाघले खाएको निकुञ्जका पशुचिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिनुभयो । 

डा. श्रेष्ठले भन्नुभयो, “२०७७ पुसमा थप दुईवटा बाघले खाएको र एउटा माउ बाघले खाएपछि त्यसको १० दिने बच्चा मरेको, गत साउन ३० मा तीनवटालाई बाघले खाएको र बाँकी नौवटा निमोनिया, पखला, कमजोरी र बाढीबाट मरेपछि सात वर्षको अन्तरालमा निकुञ्जका सबै अर्ना सकिए ।” गत वर्षको पुसमा दुईवटा अर्ना मार्ने बाघलाई निकुञ्जले डार्ट (बेहोश) बनाएर अन्यत्र सारेको उहाँले जनाउनुभयो । स्थानान्तरण गरिएका अर्ना पदमपुरमा ३० हेक्टर र १५ हेक्टरका ‘इन्क्लोजर’ बनाएर राखिएको थियो । अर्नामै विद्यावारिधि गर्नुभएका वन मन्त्रालयका सहसचिव डा. रामचन्द्र कँडेलले ठूलो झुण्डमा बस्नुपर्ने अर्नालाई सीमित सङ्ख्यामा भन्दा पनि सङ्ख्या बढाएर प्राकृतिक रूपमै छाड्नुपर्नेमा त्यसो नगर्दा समस्या भएको बताउनुभयो । 

“अर्नालाई छ सात महिना ‘इन्क्लोजर’मा राखेर यहाँको हावापानीसँग पहिचान भएपछि कम्तीमा पनि ३०/४० वटाको झुण्ड बनाएर प्राकृतिक रूपमा छाडिनु पथ्र्यो तर कमजोर व्यवस्थापनमा सात/सात वर्ष ‘इन्क्लोजर’मै राख्नु गलत भयो,” अर्ना स्थानान्तरणका समयमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रहनुभएका कँडेलले भन्नुभयो । कोसी र चितवनबीचमा फरक रहेको हावापानी, मौसम र भौगोलिक अवस्थाले पनि अर्ना बचाउन नसकिएको बताइन्छ ।

“हिमालदेखि आएको कोसीको चिसो पानीमा आहाल खेल्दै किनारको बालुवामा घाम ताप्ने र सँगै रहेको झाडीमा लुक्ने अर्ना यहाँ राम्रो नदीको पानीसमेत नपाएर कृत्रिम पोखरीमा पौडी खेल्न बाध्य भयो,” एक  संरक्षणकर्मीले प्रश्न गर्नुभयो, “अझै बर्सातका बेला बाढीले सबै घाँस पुरेर घाँससमेत खान नपाई निमोनिया र कमजोरीले मर्नुपर्दाको पीडा कस्तो रह्यो होला ?”पदमपुर सानो घोलमा जोडेर कृत्रिम पोखरी बनाई अर्ना राखिएको थियो । ती संरक्षणकर्मीले यहाँ निकुञ्जको कमजोरी पनि अर्ना मर्नुको कारण भएको आरोप लगाए ।