• १३ साउन २०८१, आइतबार

धूमपान छाडेपछि स्वास्थ्यमा सुधार

blog

रामेछाप समाचारदाता

रामेछाप, भदौ २८ गते । रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ सरङ्खेलकी ७४ वर्षीया धनमाया श्रेष्ठले धूमपान (चुरोट, बिँडी खान) गर्न छाड्नुभएको झन्डै १० वर्ष भयो । १५ वर्षको कलिलै उमेरबाट बिँडी खान सुरु गर्नुभएकी धनमायाले १० वर्षअघि स्वास्थ्यमा समस्या आएपछि डक्टरको सल्लाहअनुसार धूमपान चटक्कै छोड्नुभयो । 

त्यसपछि उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गयो । अहिले खासै समस्या आएको छैन । अब उहाँलाई फेरि चुरोट, बिँडी खान पटक्कै मन लाग्दैन । “१५ वर्षको कलिलै उमेरदेखि ६४ वर्षसम्म चुरोट, बिँडी खाइयो, यसले केही फाइदा गरेन, बरु ज्यानमा समस्या देखियो,” उहाँले भन्नुभयो । 

सबै मान्छेले सानैदेखि बसेको लत छोड्न सक्दैनन् भन्छन् । तर, धनमायाले ४९ वर्षसम्म बसेको लत चटक्कै छोड्नुभयो । “सुरुमा त गारो पनि भयो, चुरोट, बिँडीको तलतल लागेको बेला भिस चकलेट खान्थे,” उहाँले भन्नुभयो । धनमायाले मात्रै हैन उहाँको छोराले पनि धूमपान गर्न छाडेको सात वर्ष भइसक्यो । घरमा धूमपान गर्ने कोही नभएपछि धनमायाको परिवार खुसी छन् । 

“पहिला घरमा बाहिरबाट आउँदा चुरोट ल्याउन केही गरी छुटाइयो भने हजुरआमा र बुबा रिसाउनुहुन्थ्यो, अहिले यस्तो समस्या छैन, हजुरआमा र बुबाले धूमपान छाडेपछि हामी खुसी छौँ,” धनमायाका नाति विनोदकुमार श्रेष्ठले भन्नुभयो । 

धनमायाजस्तै सोही गाउँकी ८४ वर्षीया शङ्खमाया मगरले पनि धूमपान गर्न छाड्नुभएको ११ वर्षभन्दा बढी भइसक्यो । सानै उमेरदेखिको धूमपानले पटक–पटक स्वास्थ्यमा समस्या निम्तिएपछि मगरले पनि धूमपान छाड्नुभएको हो । “धूमपानले स्वास्थ्यमा असरबाहेक केही गरेन, चुरोट, बिँडी खान छाडेपछि अहिले स्वास्थ्य राम्रै छ,” उहाँले हाँस्दै भन्नुभयो ।

श्रेष्ठ र मगरजस्तै मन्थली नगरपालिका–९, पुरानागाउँको सरङ्खेललगायत आसपासका गाउँका धेरैमा उमेर ढल्किएपछि  धूमपानको लत त्याग्ने होडबाजी चलेको छ । यसरी धूमपान छाड्नेहरूमा पुरुषभन्दा महिला बढी छन् । १४/१५ वर्षबाटै बिँडी खान सुरु गरेका धेरैको ढल्कँदो उमेरमा स्वास्थ्यमा समस्या देखिन थालेपछि बुद्धि फिरेको छ । धूमपान छाडेका धेरैको स्वास्थ्यमा सुधार पनि भएको छ । 

गाउँमा उमेर ढल्केपछि धूमपान छाड्नेहरूको सङ्ख्या बढिरहेको स्थानीय जनमैत्री साना किसान कृषि सहकारी संस्था पुरानागाउँका अध्यक्ष समाजसेवी प्रमोदकुमार श्रेष्ठले बताउनुभयो ।  

“पहिला रातिको समयमा पनि पटक–पटक चुरोड बिँडी खाइरहने बानी भएका धेरै आमाबुबाहरूले अहिले धूमपान छाड्नुभएको छ, यो उहाँहरूको व्यक्तिगत स्वास्थ्य, परिवार र समाजका लागि अति राम्रो कुरा हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार पुरानागाउँको सरङ्खेल, बाटाघर, पीपलबोटे, साहुँटोललगायतका गाउँका धेरै मानिसले वृद्ध अवस्था भएपछि धूमपानको लत छाडेका छन् ।