• १३ साउन २०८१, आइतबार

आँगनमै पुग्यो खानेपानी

blog

दोलखा समाचारदाता

चरीकोट, भदौ २८ गते । दोलखाको शैलुङ गाउँपालिकामा एक हजार ५४३ वटा धारा जडानपछि छ हजार ६५५ घरपरिवार लाभान्वित भएका छन् । शैलुङमा छवटाबाट व्यक्तिगत ८१२, संस्थागत १६ र कालिञ्चोकमा ११ वटा योजनाबाट व्यक्तिगत ७०३ र संस्थागत १२ वटा धारा जडान भएको हो । खानेपानीको समस्या खेप्दै आएको स्थानीयले घरआँगनमै पानी प्रयोग गर्न पाएका छन् ।

वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले पहिलो र दोस्रो चरणमा पालिकाको १७ वटा खानेपानी योजना निर्माण भएको सीडीएफका निर्देशक प्रेमप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ती योजनामा संस्थाको नौ करोड, ३६ लाख ३९ हजार ९४७, गाउँपालिकाको एक करोड ३७ लाख ३१ हजार पाँच र श्रमदान दुई करोड ११ लाख ७३ हजार ६४० गरी १३ करोड ३१ लाख ८६ हजार रुपियाँको लागतमा लगानी भएको छ । 

यसका अतिरिक्त विद्यालयमा ४१ लाख दुई हजार ४१७ रुपियाँको लागतमा धारा निर्माण भएका छन् । बाबुबाजेका पालादेखि घण्टौँ लगाएर पानी बोकेर ल्याउनुपर्ने भन्झट हटेपछि कालिञ्चोक गाउँपालिका–१, क्याम्पलकी उपभोक्ता ८८ वर्षीया मङ्गली थामीले अतीतका दुःख स्मरण गर्दै भन्नुभयो, स्थानीयलाई  घण्टौँ लगाएर पानी लिन जानुपर्ने बाध्यता अब हटेको छ । पानीको अभाव हुँदा यहाँका महिलाहरूले पुरुषले भन्दा बढी समस्या झेल्नुपरेको थियो । अहिले घरमै खानेपानीको धारा निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएकोमा खुसी व्यक्त गर्दै ६६ वर्षीय लालबहादुर थामीले भन्नुभयो, घरबाट टाडाको खोलाको पानी पिउनु पथ्र्यो, पालो पाउन पनि गाह्रो थियो ।