• १३ साउन २०८१, आइतबार

ढिलाइ गरेकोप्रति स्थानीयवासीको विरोध

blog

मीना कँडेल

कावासोती, भदौ २८ गते । नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ढिलाइ भएको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । गैँडाकोट– ११ र १२ को सिमाना हर्कपुरमा एक घण्टा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणाधीन अवस्थामा छ । सडक निर्माणको ठेक्का पाएको कम्पनीले समयमा काम नसक्दा यात्रुले सास्ती बेहोर्नुपरेको छ । विरोधस्वरूप एक घण्टा सवारी आवागमन ठप्प पारेका स्थानीयले ‘नेताहरू हेलिकोप्टरमा सरर, जनतालाई धुलो फरर’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । ठेकेदार कम्पनीले समयमा काम नसक्दा धुलो र हिलोले आजित भएको भन्दै साङ्केतिक रूपमा एक घण्टा चक्काजाम गरेको स्थानीयले बताएका छन् । सडकको निर्माण कम्पनीसहित अन्य सरोकारवाला निकायसँग छलफलका लागि मुकुन्दपुरका स्थानीयले १३ सदस्यीय वार्ता टोलीसमेत गठन गरेका छन् । 

विभिन्न निकायसँग समन्वयका लागि गठन भएको वार्ता टोलीले सडक निर्माण कम्पनीका प्रतिनिधिसँग सशस्त्र बेसक्याम्पमा छलफल गर्ने वार्ता समितिका सदस्य लकुश धितालले जानकारी दिनुभयो । त्यस्तै चार लेन विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकको काम आउँदो दशैँलगत्तै फेरि सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ । 

तर म्याद थप भए पनि असोजपछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनसाय बनाएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन । ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ साल माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । 

तर यस अवधिमा झन्डै १८ प्रतिशत मात्रै काम भएपछि पुनः एक वर्षका लागि म्याद थप गरिएको हो । म्याद थप भएपछि कामले तीव्रता लिने आयोजना प्रमुख दृष्टिले बताउनुभयो । उहाँका अनुसार पूर्वी खण्डमा पुल निर्माणको कामसमेत यसै वर्ष सकिने छ । पूर्वी खण्डमा १२ वटा ठूला पुल निर्माण गर्नुपर्नेमा १० वटाको काम भइरहेको छ । विभिन्न चरणमा १० वटा पुलको काम चलिरहेको छ । बाँकी दुईवटा पुलको काम समेत सुरु गरी यसै वर्ष निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।