• १३ साउन २०८१, आइतबार

खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

blog

रुपन्देही सैनामैनाको ईगुरिया खोला । तस्बिर : पबिता पौडेल

पबिता पौडेल

सैनामैना, भदौ २७ गते । रुपन्देही सैनामैनाको ईगुरिया खोलामा पुल नबन्दा मानवीय क्षति भइरहेको छ । सो खोला तर्नेक्रमा पन्ध्र वर्षमा १० जनाको ज्यान गएको स्थानीयको भनाई छ । गत चार बर्षअघि रुपन्देही सैनामैना नगरपालिका ४५ वर्षिय हरिहर मल्लाह ७ बर्षिया छोरी लिएुर घर फर्किदा सो खोलाले बाउछोरीलाई बगाएको थियो । खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुको बिकल्प नरहेको स्थानीयले बताएका छन् । 

स्थानीय बासिन्दाका अनुसार प्रत्येक चुनाबमा ईगुरिया खोलामा पुल हालिदिने, बाटो पक्की गरिदिने नेताहरुले आश्वासन दिए पनि काम नगरिदिएको स्थानीयको गुनासो छ । खोलामा पुल नहुँदा कृषिजन्य काममा पनि समस्या परेको उहाँहरुको गुनासो छ ।

स्थानीय चन्द्रकुमारी कुमालका अनुसार यो खोलाले बर्षेनी मान्छे मार्छ, अझै कति मान्छेको ज्यान जाने हो थाहा छैन । आफ्नो श्रीमान कृष्ण कुमालले पनि सोही खोलामा बगेर ज्यान गुमाएको उहाँले दुःख व्यक्त गर्नुभयो ।  

अर्का स्थानीय कमला ज्ञवालीले भन्नुभयो, “हाम्रो साथी देउमाया, डा. सिजाली बुवा अरु पनि धेरैको ज्यान यो खोलाले लिइसकेको छ, खोलामा पुल बनाउन माग गरेको धेरै समय भयो तर कसैले सुनेन ।”

सैनामैना नगरपालिकाको वडा ५ अलि बिकट क्षेत्रसम्म फैलिएको छ । सो नदीको करिब ५ किमिमाथि पुल भए पनि गाउँमा पुल निर्माण भएको छैन । सो वडाका अध्यक्ष धनप्रसाद पौडेलका अनुसार खोलामा ५ वटा पुलको आवश्यकता छ । त्यसका लागि माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

सैनामैना नगरपालिकामा ७ वटा खहरे खोलाहरु दानब नदी, घमहा नदी, बनरहवा, तुलबुलिया आदि नदी रहेको उहाँले जानकारी दिनुभयो । खोलामा पुल नहुँदा त्यहाँका करिब पन्ध्र हजार नागरिकलाई सास्ती भएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

सैनामैना नगरपालिका नगरप्रमुख फडेन्द्र शर्माले पुलको आवश्यकता भएको ठाउँमा पुल निर्माणका लागि बजेट माग गरिएको बताउनुभयो । केही ठाउँका लागि बजेट पनि परेको उहाँको भनाई छ । वडा ५ का लागि पनि ५० लाख बजेट परेकाले अब डीपीआरको काम शुरु हुने जानकारी दिनुभयो ।