• १३ साउन २०८१, आइतबार

बाघको आक्रमणबाट एकको मृत्यु

blog

फाइल तस्बिर

सिराज खान 

नेपालगञ्ज, भदौ २७ गते । बाँके र बर्दिया निकुञ्ज वरिपरिका क्षेत्रमा आएर बाघले मानिसमाथि आक्रमण गर्ने क्रम छोडेको छैन । बर्दियामा बाघको आक्रमणबाट स्थानीय झुठारु थारुको मृत्यु भएको छ ।  

भैँसी चराउन जङ्गल गएकाबेला बर्दिया मधुवन नगरपालिका –२ अमरपुरका ६१ वर्षीय थारुको बाघको आक्रमणले उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

भैँसी चराउन गएका थारु आइतबार रातिसम्म घर नफर्केपछि उहाँका आफन्तले वन कार्यालय र प्रहरी कार्यालय लगायतका ठाउँमा जानकारी गराएका थिए । खोजतलास सुरु गर्दा थारुको औराहीको जङ्गलमा घुँडामुनिका दुवै खुट्टा र शरीरका अन्य केही भाग बाघले खाएको अवस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदय सापकोटाले बताउनुभयो । 

थारुको शव भेटिएको ठाउँमा उहाँले प्रयोग गरेको छाता, चप्पल फेला परेको प्रहरीको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले घाँस दाउराका लागि एक्लाएक्लै वनमा नजान सर्वसाधारणलाई जानकारी गराउँदैआएको छ । सो सूचनाबारे स्थानीयले अटेर गरेका कारण बाघको आक्रमणमा पर्नेगरेको डिभिजन वन कार्यालयले जनाएको छ ।