• १३ साउन २०८१, आइतबार

अनुदानकै आसमा महिला उद्यमी बढे

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ २७ गते । दर्ता राजस्वमा छुट, सरकारी अनुदान र बैङ्कबाट ऋण पाउने लोभले रुकुमपश्चिममा पछिल्लो समय महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो छ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुमपश्चिमका अनुसार कार्यालयमा दर्ता हुन आएका उद्योगी तथा व्यवसायीमा महिलाको सङ्ख्या बढिरहेको छ। कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीले गत आर्थिक वर्षमा दर्ता भएका ६३० वटा व्यवसायमध्ये ३२४ वटा महिलाको नाममा दर्ता भएको पाइएको छ। पुरुषको नाममा उद्योगतर्फ १९९ र वाणिज्यतर्फ १०७ वटा गरेर ३०६ वटा व्यवसाय दर्ता भएका छन्। कार्यालयको तथ्याङ्कअनुसार महिलाको नाममा १६४ वटा उद्यम र १६० वाणिज्यतर्फका व्यवसाय दर्ता भएका छन्। 

महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्दा ५० प्रतिशत राजस्व छुट पाइने भएपछि महिलाको नाममा उद्योग दर्ता गराउनेको सङ्ख्या बढेको सूचना अधिकारी ओलीले बताउनुभयो। यसका साथै सरकारले दिने विभिन्न अनुदानका कार्यक्रममा महिलालाई प्राथमिकता दिने भएपछि महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेको सङ्ख्या बढेको हो। ओलीले पछिल्लो समयमा बैङ्क तथा लघुवित्तले महिलाको नाममा दर्ता भएका उद्योग व्यवसायलाई ऋण दिने भएकाले पनि महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता बढेको पाइएको बताउनुभयो। 

कार्यालयका अनुसार महिलाको नाममा सिलाइकटाइ, भैँसीपालन, बाख्रापालन, बङ्गुरपालनलगायतका व्यवसाय बढी मात्रामा दर्ता भएका छन्। राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाएर आत्मनिर्भर बनाउन विभिन्न गतिविधिहरू सञ्चालन गरेकाले पनि महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको बताइएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय उद्यम विकास सहजकर्ता मेनका चन्दले पिछडिएका दलित र महिलालाई उद्यम र व्यवसायको महìव, महिला सहभागितालगायतका विषयमा सहजीकरण गरिएको बताउनुभयो। स्वरोजगार बन्नका लागि प्रेरित गरिरहेकाले पनि महिला उद्योग तथा व्यवसायउन्मुख भएको उहाँको भनाइ छ। 

उद्यम गर्न चाहनेलाई वडा तथा पालिकामा गएर सीप विकास, व्यक्तित्व विकास, उद्यमी बन्ने प्रक्रियालगायतका विषयमा जानकारी दिने गरेकाले पनि महिला उद्योग तथा व्यवसाय दर्तामा अगाडि आएको चन्दले उल्लेख गर्नुभयो।