• २५ पुस २०८१, बिहिबार

लगानी जुटाउन छलफल हुँदै

blog

काठमाडौँ, भदौ २७ गते । दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने गरी पूर्वाधार संरचना निर्माण तथा लगानी प्रवद्र्धन गर्न उद्देश्यले लगानी बोर्ड नेपालले बृहत् छलफल गर्ने भएको छ । 

बुधबार काठमाडौँमा हुने उक्त ‘दिगो पूर्वाधार लगानी फोरम’मा लगानीकर्ता, निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैङ्क तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञको सहभागिता रहने बोर्डले जनाएको छ । 

नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६)मा शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धता पूरा गर्न साधनस्रोतको परिचालनमा कोसेढुङ्गा साबित हुने लगानी बोर्डले अपेक्षा गरेको छ । सो कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैङ्क, परियोजना विकासका सम्बन्धमा गरिने समझदारी तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाबारे विज्ञहरू बीच सैद्धान्तिक बहस हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यावसायिक निर्देशिका सार्वजनिक गरिनेछ । गत वर्ष लगानी बोर्डले दसौँ वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्नसमेत सार्थक हुने भट्टको भनाइ छ ।

उक्त कार्यक्रममा नेपालमा जलवायु वित्त प्रवद्र्धन, ऊर्जामा लगानी तथा दिगो पूर्वाधार विकासमा व्यावसायिक वतावरणसम्बन्धी सत्रहरू पनि सञ्चालन हुने जनाइएको छ ।