• १३ साउन २०८१, आइतबार

सरकारी जग्गा संरक्षण गरिँदै

blog

परासी समाचारदाता 

नवलपरासी, भदौ २७ गते । पश्चिम नवलपरासीको पुरानो नगरपालिका रामग्राम नगरपालिका अहिले नगर क्षेत्रमा अतिक्रमणमा परेका सरकारी जमिनको संरक्षणमा जुटेको छ।  नगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको नगरपालिकाका विभिन्न वडामा अतिक्रमण भएका वा अतिक्रमणको सँघारमा रहेका पर्ती एवं सरकारी जग्गालाई रामग्राम नगरपालिकाले नापनक्सा गरी संरक्षणमा लागेको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभएको छ। 

रामग्राम नगरपालिका वडा नम्बर १ स्थित बन्डाखोलाको किनारमा रहेको सात कट्ठा पाँच धुर जग्गामा नगरपालिकाले नापजाँच गराई चार किल्ला छुट्याएर गत शुक्रबार यो जग्गा सरकारको हो भन्ने लेखिएको बोर्ड लगाएको छ। यसैगरी नगरपालिकाको वडा नम्बर १ मा मात्र करिब पाँच बिघा सरकारी जमिन व्यक्तिले उपभोग गर्दै आएको पाइएको र त्यो जग्गा सरकारी नियन्त्रणमा लिइएको प्रमुख यादवले बताउनुभएको छ । 

जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाका रूपमा रहेको सदरमुकामको रामग्राम नगरपालिकामा दसौँ बिघा सरकारी जग्गा अतिक्रमण भएको अनुमान गरिएको छ। १८ वटा वडा रहेको रामग्राम नगरपालिकामा कतिपय स्थानमा सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरी खेती गर्र्दै आएका छन् भने कतिपय स्थानमा मानिसको समूहले सार्वजनिक जग्गा बनाई सामूहिक रूपमा प्रयोग गर्दै आएको बताइएको छ। नगरपालिकाले नापजाँचपछि अतिक्रमण भएका सबै जग्गाको तारबार गरी संरक्षण गर्ने योजनामा काम सुरु गरेको बताइएको छ। जिल्लाभर कति सरकारी जमिन अतिक्रमित छ भन्ने कुनै निकायमा यकिन तथ्याङ्क भने छैन।