• १३ साउन २०८१, आइतबार

दाङ २ बाट महरा र पोखरेलको प्रतिस्पर्धा हुने निश्चित

blog

दाङ, भदौ २७ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ । आइतबार माओवादीले उपाध्यक्ष महरालाई उम्मेदवारमा सिफारिस गरेसँगै आगामी निर्वाचनमा दुई ठुला नेताको प्रतिस्पर्धा हुने भएको हो । 

आइतबार माओवादीले क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि महरासहित तीनजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिनुभयो ।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको हो भने शर्मा समानुपातिक सांसद हुनुहुन्छ । त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २  बाट उम्मेदवार भए पनि पराजित हुनुभएको थियो । यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शङ्कर पोखरेललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ ।