काठमाडौं, भदौ २६ गते । प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्कनुभएको छ । उहाँलाई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गर्नुभयो ।
विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र ‘एक्सन फर पिस किपिङ’ कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताउनुभयो ।
नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उहाँले जानकारी दिनुभयो । सम्मेलनका क्रममा उहाँले अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको प्रशंसा गरिएको जानकारी दिनुभयो ।
उहाँसँगै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि उक्त सम्मेलनमा भाग लिन अमेरिका जानुभएको थियो । यही भदौ १५ देखि १७ सम्म भएको उक्त सम्मेलनमा १८१ देशका प्रहरी प्रमुखको सहभागिता थियो ।