• १५ असार २०८१, शनिबार

नेपालगञ्ज क्षेत्रको इन्धन आपूर्तिमा अवरोध

blog

सिराज खान 

नेपालगञ्ज, भदौ २६ गते । निजी क्षेत्रका ढुवानी व्यवसायीले ढुवानी नगर्दा एक सातादेखि नेपालगञ्जमा हवाई इन्धनको अभाव हुन थालेको छ । भारतको लखनऊबाट भइरहेको हवाई इन्धन ढुवानी रोकिँदा नेपाल आयल निगमको नेपालगञ्ज डिपोले नेपालगञ्ज, भैरहवा र धनगढी विमानस्थलमा हवाई इन्धन आपूर्ति कटौती गरेको छ । 

यसैगरी ढुवानी व्यवसायीले शनिबारदेखि अन्य पेट्रोलियम पदार्थको ढुवानी पनि रोकेका छन् । यसले गर्दा भारतको गोन्डाबाट आपूर्ति हुने डिजेल, पेट्रोल र खाना पकाउने ग्यास पनि रोकिएको छ । यसबाट कर्णाली र लुम्बिनीका १५ जिल्लाको इन्धन आपूर्तिमा समस्या आउने निगमको नेपालगञ्ज डिपोले जनाएको छ ।

हवाई इन्धन आपूर्ति आधाले कटौती

नेपालगञ्ज डिपोका प्रमुख दीपकप्रसाद घिमिरेले ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै भदौ १९ गतेदेखि भारतबाट हवाई इन्धन ल्याउन बन्द गरेपछि नेपालगञ्ज–काठमाडाँै उड्ने ठूला विमानलाई इन्धन दिन बन्द गरिएको जानकारी दिनुभयो । 

नेपालगञ्ज विमानस्थललाई दैनिक २५ हजार लिटर हवाई इन्धन आपूर्ति गरिँदै आएकोमा हाल १०–१२ हजार लिटर मात्र दिइरहेको डिपोले जनाएको छ । धनगढी र भैरहवामा पनि इन्धन कटौती भएको जनाइएको छ ।

उहाँले लखनऊबाट हवाई इन्धन आयात बन्द हुँदा इन्धनको मौज्दात सकिँदै गएकाले तीन दिनदेखि ठूला जहाजलाई इन्धन दिन बन्द गरेको बताउनुभएको हो । 

नेपालगञ्जबाट पहाडी जिल्लामा उड्ने साना जहाजलाई इन्धन दिने कार्य जारी रहेको जनाउँदै डिपो प्रमुख घिमिरेले भारतबाट थप आयात नगरिए चार–पाँच दिनमा मौज्दात सकिने र कसैलाई पनि दिन नसकिने बताउनुभयो । नेपालगञ्ज डिपोले सबै हवाई सेवाप्रदायक कम्पनीलाई अत्यावश्यकबाहेक इन्धन दिन नसकिने भन्दै पत्राचार गरिसकेको छ । 

इन्धन ढुवानी हुन नसकेका कारण 

काठमाडौँबाटै हवाई इन्धन भरेर उडान गर्न सबै हवाई सेवा प्रदायक कम्पनीलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो । 

“यही अवस्था रहे केही दिनपछि कुनै पनि जहाजलाई इन्धन दिन सक्ने अवस्था रहने छैन । त्यसैले अहिले ठूला जहाजलाई काठमाडौँबाट नै चाहिने इन्धन भरेर आउन भनेर पत्राचार गरिसकेका छौँ,” घिमिरेले भन्नुभयो । 

सात दिनदेखि ढुवानी व्यवसायीले भारतबाट हवाई इन्धन ढुवानी गर्न रोकेका छन् । नेपालगञ्ज डिपोले आफूसँग भएका नौवटा ट्याङ्करबाट मात्रै भारतको लखनऊबाट हवाई इन्धन आइरहेको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनित शाहले नेपालगञ्जबाट इन्धन नदिएपछि जहाजले दुवै तर्फका लागि लाग्ने इन्धन काठमाडाँैबाटै बोकेर ल्याउनुपरेको जानकारी दिनुभयो । 

नेपालगञ्जबाट हाल काठमाडौँ र पोखराका लागि मात्रै दैनिक एक दर्जनभन्दा बढी उडान हुने गरेका छन् । त्यसबाहेक कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लामा दैनिक दुई दर्जनभन्दा बढी उडान हुने गरेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

डिजेल, पेट्रोल र ग्यास ढुवानी पनि बन्द 

हवाई इन्धन ढुवानी गर्न बन्द गरेको एक सातापछि ढुवानी व्यवसायीले शनिबारदेखि डिजेल, पेट्रोल र एलपी ग्यासको ढुवानी पनि बन्द गरेको नेपाल आयल निगमको नेपालगञ्ज डिपोले जनाएको छ । डिपो प्रमुख घिमिरेले हालसम्म हवाई इन्धनकै समस्या रहेकोमा शनिबारदेखि डिजेल, पेट्रोल र एलपी ग्यास ढुवानी पनि बन्द गरेकाले सो समस्या पनि केही दिनपछि चर्किने बताउनुभयो । यसबाट कर्णाली र लुम्बिनीका १५ जिल्लाको इन्धन आपूर्ति प्रभावित हुने भएको छ ।